बन्द रहेको मलेसियाको रोजगारी आइतबारदेखि खुल्ने

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार

काठमाडौं । वैदेशिक रोजगारीको गन्तव्य मलेसिया आइतबारबाट खुल्ने भएको छ। गत वर्षबाट बन्द रहेको मलेसियामा कामदार लैजान दुई देशका अधिकारीहरुबीच आज सहमति भएको हो ।

नेपाल र मलेसियाका अधिकारीहरुबीच आज भएको सहमतिअनुसार आइतबारबाट मलेसिया रोजगारी खुल्न लागेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन्। तीन दिनको बैठकपछि बिहीबार मलेसियाको रोजगारी खुलाउने बारेमा नेपाल र मलेसियाबीच समझादारी भएको हो।

मन्त्रालयका अनुसार १० वटा बुँदामा सम्झौता भएको छ। श्रम सम्भौतालाई कार्यान्वयन गर्दै अघि बढ्ने तर पहिले नै पठाएको ढाँचामा हाललाई कामदार पठाउने सहमति भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य परीक्षणकोको लागत तथा अन्य लागत बढी भएको भन्दै गत वर्ष जेठदेखि बन्द भएको मलेसियाको रोजगारी श्रम सम्झौताले नै उल्लेख गरेको शुन्य लागतमा पठाउन मलेसिया तयार रहेको छ।

नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलीले मलेसियन टोलीसँग वार्ता गरेको थियो । भदौ २४ र २५ गते दुई दिन हुने भनिएको बैठक हिजो टुङ्गो नलागेर सकिएको थियो । आज फेरि चलेको बैठकले अन्त्यमा उक्त समझदारी कार्यान्वयन गर्ने गरी सहमति जनाएको हो । यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट