पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

अमलेखगञ्ज । नेपालमा भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएसँगै पेट्रोल, डिजेल र मट्टितेल दुई रुपैयाँले सस्तो भएको छ ।

नेपाल आयल निगमले मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल(मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल(मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको केही बेरमा उद्घाटन गर्ने भएका छन् ।

उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भइसके पनि १२ बजे भनिएको कार्यक्रम केही ढिला सुरु हुने अमलेखगञ्जबाट हाम्रा संवाददाता अशोककुमार बस्नेतले बताएका छन् । उद्घाटन पश्चात तत्काल बरौनी डिपोबाट डिजेल आउनेछ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङकी निर्माण गरिएको छ। वि.सं. २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा स्वीच थिचेर मोतिहारी अमलेखगञ्ज पाइपलाइनको निर्माणको शिलान्यास गरेका थिए।

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएसँगै पेट्रोल, डिजेल र मट्टितेल दुई रुपैयाँले सस्तो भएको निगमका कार्यकारी अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट