आजदेखि भारतबाट नेपालमा पाइपलाइन मार्फत इन्धन आउने (तस्बिरसहित)

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार

अमलेखगञ्ज । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आज उद्घाटन गर्ने भएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट ‘भिडियो कन्फ्ररेन्स’ मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेपछि पाइपलाइनबाट तेल आउनेछ ।

पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्ज पुगिसकेको छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ ।

नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ ।

देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौँ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ ।

(तस्बिर: अशोककुमार बस्नेत/अमलेखगञ्ज)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट