सिंह र स्यालको तुलना हुन सक्दैन: प्रचण्ड

प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार

काठमाडौं । केही समय अगाडिसम्म सरकारमा ओलोपालोको सहमति भएको र अब आफू प्रधानमन्त्री बन्ने बताउँदै आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन्।

सोमबार पार्टी मुख्यालयमा आयोजित २१औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो पूर्ववत भनाइबाट पछाडि हट्दै ओली नेतृत्वकै सरकारलाई बलियो बनाउनु पर्ने बताएका हुन्। प्रचण्डले सरकारका कमजोरीलाई देखाउँदै परिवर्तनलाई उल्ट्याउने खेल भइरहेको भन्दै त्यस्तो खेल सफल हुन नदिने दाबी गरे।

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुको अहिलेको हो–हल्लालाई स्याल हुइयाँको संज्ञा दिए। स्यालहरु कहिलेकाहीँ सिंहको अगाडि आएर काराए पनि स्याल सिंह हुन नसक्ने उनको दाबी थियो। सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने उनको भनाई थियो ।

आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैसँग आग्रह पनि गरे । शहिदको बलिदानबाट प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्र उल्टाउन नदिने बताउदै अध्यक्ष प्रचण्डले आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको बताए ।

सुरेश वाग्ले कम्युनिष्ट वैचारिक अग्रज र इमान्दार भएको बताउँदै प्रचण्डले राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको स्मरण गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट