रानुबारे लताको प्रतिक्रिया ‘नक्कल गरेर धेरै समय टिक्न सकिन्न’

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार

मुम्बई । अहिले रानु मंडललाई नचिन्ने सायदै कोही होलान् । पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएको भरमा मागेर गुजारा चलाउँदै आएकी रानु अहिले रातारात सेलेब्रेटी बनेकी छन्।

उनले ‘एक प्यारका नग्मा है’ गाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै उनी टिभी र सञ्चारमाध्यममा छाएकी हुन्। उनलाई ‘रानाघाटकी लता मंगेशकर’ भन्दै प्रशंसकहरूले खुबै सरहाना गरिरहेका बेला भारतकी ‘लेजेन्ड’गायिका लता मंगेशकरले सफलताका लागि नक्कल गरेको कामले धेरै समयसम्म टिक्न नसक्ने प्रतिक्रिया दिएकी छन्।

हिन्दुस्तान टाइम्सका अनुसार लता मंगेशकरलाई उनकै गीत गाएर चर्चा कमाएकी रानुका बारेमा सोधिएको थियो। त्यसको जवाफमा लताले ‘यदि मेरो नाम र कामबाट कसैलाई राम्रो हुन्छ भने म आफूलाई भाग्यमानी ठान्छु। तर मलाई यो पनि लाग्छ, सफलताका निम्ति नक्कल गरेको काम भरपर्दो र दिगो हुँदैन। किशोरदा (कुमार) वा रफी साब (मोहम्मद रफी) वा आशा (भोस्ले) वा अरू कसैका गीत गाएर सम्भावना भएका र नयाँ गायकहरूले आफूतिर ध्यान बटुल्न सक्छन्। तर त्यो छोटो हुन्छ। यो सफलता लामो समय रहँदैन’ भनेकी छन् ।

लता मंगेशकरले दिएको प्रतिक्रियामा भने धेरैले असन्तुष्टि जनाएका छन्। रानुले अहिलेसम्म बलिउडका दुई वटा गीत गाई सकेकी छन् । उनलाई गायक तथा संगीतकार हिमेश रेशमियाले आफ्नो फिल्ममा गाउने अवसर दिएका थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट