आयो ‘बालप्रज्ञा’

प्रकाशित मिति: ३२ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले अर्धवार्षिक बालसाहित्यिक पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गरेको छ ।

बालसाहित्य तथा लोकवार्ता विभागको संयोजनमा प्रकाशित १२० पृष्ठको रङ्गीन पत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा प्रधानमन्त्री तथा प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओली, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति बैरागी काइँला र पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीका प्रेरणामूलक शुभकामना रहेका छन् ।

यसै गरी शताब्दी पुरुषद्वय राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीका रोचक र प्रेरणादायी बाल्यकालीन अनुभूतिहरू समाविष्ट छन् ।

पत्रिकामा सबै पुस्ता, सबै विधा, विविध विषयक्षेत्र र विविध भाषालाई सम्मानजनक स्थान दिइएको छ । बालरुचि र भावनालाई समेट्ने खालका रचनाहरू समावेश गरिएको ‘बालप्रज्ञा’को प्रधान सम्पादकमा विभागीय प्रमुखमा प्राज्ञ डा. देवी नेपाल, सम्पादक समूहमा नवराज रिजाल, गोपीकृष्ण ढुङ्गाना, देवु लुइँटेल र कार्यकारी सम्पादकमा प्रा.डा. ध्रुव घिमिरे रहेका छन् ।

पत्रिकाको मूल्य दुई सय रुपैयाँ रहेको छ । पत्रिका प्रज्ञा–प्रतिष्ठानको विक्री कक्षमा उपलब्ध छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट