म सिकिस्त भएजस्तै अफवाह फैलाइयो : प्रधानमन्त्री

प्रकाशित मिति: ३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । आफूलाई ज्वरो आएर आराम गर्दा बाहिर हावा हालेर समाचार बनाइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अहिले नभएर १५ वर्ष पहिला बिरामी भएको बताएका छन् ।

गत साता मात्रै सिंगापुरमा आँखा, कान र बुढी औंलादेखि कान्छी औंलाको नङसम्म परीक्षण गरेर आएको भन्दै उनले आफू ठीक रहेको जानकारी दिएका छन् । बिहीबार निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री अचानक बिरामी भएपछि स्थगित भएको थियो । बैठक स्थगित भएपछि प्रधानमन्त्री अस्वस्थ भन्दै समाचार प्रकाशित भएका थिए ।

शुक्रबार गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग बालुवाटारमा भेटेका ओलीले आफू तन्दुरुस्त रहेको बताए । प्रधानमन्त्रीको निजी सचिवालयले शुक्रबार झापाका कार्यकर्तासँग प्रधानमन्त्रीले भेटेको तस्बिर सार्वजनिक गर्दै उनी स्वस्थ रहेको पुष्टि गरेको हो ।

झापा ५ नं. निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका निराधार हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, ‘हिजो मलाई एकछि ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । तर, अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।’ प्रधानमन्त्री ओलीले आफूलाई बिरामी नै भन्ने हो भने पनि बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएको स्मरण गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट