कुवेतमाथि नेपालको शानदार जित

प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत एसिया छनौटको तेस्रो खेलमा कुवेतमाथि ७ विकेटको शानदार जित हात पारेको छ।

कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । कप्तान पारस खड्काको उत्कृष्ट अर्धशतकीय पारीसँगै बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङका कारण नेपालले कुवेतलाई हराउन सफल भएको हो ।

नेपालको जितमा कप्तान पारस खड्काले ४२ बलमा ११ चौका र १ छक्कासहित ६८ रन जोडे। पारस र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । ज्ञानेन्द्र १३ बलमा १९ रन बनाएर आउट हुँदा नेपालले पहिलो विकेट गुमायो । तर, पारसले दोस्रो विकेटका लागि शरद भेषावकरसँग अर्धशतकीय साझेदारी गर्दै नेपाललाई जितको आधार तयार पारेका थिए । शरदले इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्याए ।

शरदले ३० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३८ रन बनाए । उनले १६औँ ओभरको पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गरेका थिए । नेपाली लेग स्पीनर सन्दीप लामिछाने र बस्नत रेग्मीले उत्कृष्ट प्रर्शन गर्दै ६ विकेट लिएका थिए । लगातार दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ ।

आइतबार सिंगापुरसँग खेलेपछि युएइमा हुने ग्लोबल क्वालिफायर पुग्ने निर्णायक हुनेछ । यस प्रतियोगिताबाट शीर्ष टोलीमात्रै अक्टोबरमा हुने ग्लोबल छनौटमा पुग्ने भएकाले नेपालले आइतबार सिंगापुरविरुद्ध जित हात पार्नैपर्नेछ। सिंगापुर ५ अंकसहित शीर्षमा छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट