ललितपुरको लेलेमा खुल्यो कृषि उपज संकलन केन्द्र

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

ललितपुर । ललितपुरको लेलेमा निर्माण भएको कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ । नेपाल जाइका अलमनाई एशोसियसन (जान) र जापान नेपाल सोसाइटी, टोकियो जापानको सहयोगमा लेलेमा निर्माण भएको संकलन केन्द्रको उद्घाटन नेपालका लागि जापानका महामहिम राजदूत मासामिचि साइगो, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जाइका नेपालका प्रमुख आवासीय प्रतिनिधि युमिको आसाकुमा र जानका अध्यक्ष डा. रामचन्द्र भुसालले शनिबार संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै जापानी राजदुत मासामिचि साइगोले जानले लामो समयदेखि नेपाल-जापान बीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र हाल सामुदायिक विकासका कार्यक्रम संचालन गरी यो संकलन केन्द्रको निर्माण समेत गरेकोमा जानलाई धन्यवाद दिएका थिए । कृषिविज्ञ समेत रहेका जापानी राजदुतले उक्त संकलन केन्द्र निर्माणले आसपासको क्षेत्रमा तरकारी उत्पादनमा सहयोग पुग्ने अपेक्षा राख्दै स्थानीय कृषकहरुको र खासगरी महिलाहरुको क्षमता अभिवृद्धि भइ आयआर्जन बढ्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गत वर्षको तुलनामा यो वर्ष कृषकहरुले गोलभेडा बढी मुल्यमा बिक्रि गरी राम्रो आम्दानी लिन सफल भए पनि संकलन केन्द्र निर्माण पश्चात कृषकहरुले उपभोक्तासँग उचित मुनाफा मात्र लिइ बिक्रि गर्नुपर्ने र अहिले जस्तो तरकारीको अभाव भएको बेलामा जति मुल्यमा पनि बेच्न सकिन्छ भनी अनुचित मुल्य लिन नहुने धारणा राखे ।

जाइका नेपालका प्रमुख युमिको आसाकुमाले जान जाइका नेपालको महत्वपुर्ण साझेदार (पार्टनर) भएको र आफू नेपाल आएपछि जानले गरेका कार्यक्रमहरुमा सहभागी हुँदा सबै कार्यक्रमहरु अत्यन्त राम्रो पाएको बताए । उनले जानले आफ्ना नियमित कार्यक्रमका अतिरिक्त सामुदायिक विकासका कार्यक्रम संचालन र संकलन केन्द्र निर्माण जस्तो स्थानीय समुदाय लाभान्वित हुने कार्यक्रम समेत गरेकोमा जाइका नेपालको तर्फबाट जानलाई धन्यवाद दिँदै जाइकाले जानलाई दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताए ।

कृषिविज्ञ समेत रहेका जानका अध्यक्ष एवं उद्घाटन समारोहका अध्यक्ष डा. रामचन्द्र भुसालले कृषकहरुलाई अब आफ्नो बारीमा के फल्छ भन्दा पनि बजारमा के बिक्छ भनी उत्पादन योजना बनाएर तरकारी उत्पादन गर्न अनुरोध गरे । कार्यक्रममा गोदावरी नगरपालिका ५ का वडा अध्यक्ष मिलन सिलवाल, स्थानीय प्रतिनिधि एवं कृषकहरु शम्भु घिमिर, मनोज लामा, सुमित्रा घिमिरे र सरुपा गोदारले समेत आ–आफ्नो विचार राख्दै सामुदायिक विकासका कार्यक्रम संचालन र संकलन केन्द्रको निर्माणको लागी जानलाई धन्यवाद दिए।

जानले लेले र नल्लु क्षेत्रमा करिब ४०० घर धुरीका लागि सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएको छ । बेमौसमी तरकारी खेती गर्ने समूहका नयाँ कृषकहरुले वार्षिक रुपमा कम्तीमा रु. २० हजार र पुराना कृषकहरुले रु. ३ तीन लाखसम्म आम्दानी लिन सफल भएका छन् । जानको सामुदायिक विकास कार्यक्रममा सहयोग गर्न जाइका नेपालले नियमित रुपमा एक जना जापानी स्वंयसेवक समेत उपलब्ध गराउँदै आएको छ ।

जानका सचिव एवंम् राष्ट्रिय योजना आयोगका सह-सचिव डा. किरण रुपाखेतीले संचालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, कृषकहरु, जापानी राजदूतावास तथा जाइका नेपालका उच्च अधिकृतहरु र जानका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट