अझ केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार

काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेकाले देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता निष्क्रिय भएको मनसुनको प्रभाव सोमबारदेखि फेरि सुरू हुने मौसमविद्ले बताएका छन् । सोमबार साँझदेखि देशका पूर्वी र मध्य भागमा झरी पर्ने सम्भावना रहेको र उक्त झरीले पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउनु पर्ने मौसमविद् बरूण पौडेलले जानकारी दिए ।

महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहि केही ठाउँमा पानी पर्ने सम्भावना छ भने आइतबार राति पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै सोमबार दिउँसो देशको पूर्वी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वका अधिकांश स्थानका साथै मध्य तथा पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ।

पूर्व तथा मध्यका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । मंगलबार देशको पूर्वी र मध्य भागमा पूर्ण बदली साथै पश्चिमी भू-भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको र पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट