कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारमा विभागको छड्के

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

काठमाडौं । शुक्रबार बिहानै ४ बजेदेखि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरिएको छ ।

सरकारले उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा तरकारी बजारको अनुगमन गरिएको हो । विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ । बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारबाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी विभागले गरेको छ ।

अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उनले बताए । अनुगमनमा खटिएका निरीक्षण अधिकृतलाई तरकारी खरिद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट