विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रकाशित मिति: २४ असार २०७६, मंगलवार

काठमाडौं, २४ असार । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले विषादी परीक्षण नगरी भारतीय तरकारी ल्याउने सरकारको निर्णय तत्काल बदर गर्न माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा भारतबाट विषादी परीक्षण गरेरमात्र तरकारी ल्याउन र नेपालकै तरकारी पनि परीक्षणपछि मात्रै किनबेच गर्न सरकारलाई आदेश दिन माग गरिएको छ।

सरकारले केही दिनअघि विषादी परीक्षण गरेरमात्र तरकारी भित्र्याउनुपर्ने भन्दै राजपत्रमा प्रकाशित सूचनालाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि अधिवक्ताद्वयले रिट दायर गरेका हुन् । विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यको रुपमा गलत भएको दाबी निवेदनमा गरिएको छ।

विषादी परीक्षण गर्ने मेसिन नभएको बहानामा विषादीयुक्त तरकारी तथा फलफूलहरु बेच्न खोज्नु नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हकविरुद्ध हुने रिटमा उल्लेख छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट