">

अण्डाको मूल्य वृद्धि

प्रकाशित मिति: २४ असार २०७६, मंगलवार

चितवन, २४ असार । प्रतिक्रेट रु. २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य बढेर रु. २८० पुगेको छ । सानो अण्डाको मूल्य रु. ११५ बाट बढेर रु. २३० पुगेको छ ।

कुखुराको अण्डाको मूल्यमा सुधार आए पनि लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले अण्डाको मागअनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धि हुँदै जाने अनुमान गरिएको बताए । तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु. ३६० पुगेको थियो ।

गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ । पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र रु. एक अर्बभन्दा बढी लगानी भएको पोखरेलको भनाइ छ । दानाको मूल्य र बैंकको ब्याज बढ्दै जाने र अण्डाको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमशः मूल्यवृद्धि हुन सकेमा टिक्न सक्ने उनले बताए ।

सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु. १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो सङ्ख्या ५५ लाख पुगेकोमा क्रमशः घट्दै आएको कँडेलको भनाइ छ ।

अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ । पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 


ताजा अपडेट