भारतबाट आउने तरकारी र फलफूलको विषादी जाँच नहुने

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

काठमाडौं । भारतको चर्को दबाबपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।

निर्णयसँगै आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो। सीमा नाकामा फलफूल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै निर्णय फिर्ता गर्न चर्को दबाब दिँदै आएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट