धनकुटामा पहिलो पटक प्याराग्लाइडिङको सफल परीक्षण उडान

प्रकाशित मिति: ६ असार २०७६, शुक्रबार

धनकुटा । धनकुटामा पहिलो पटक प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । धनकुटा बजार नजिकै रहेको चुलीवनबाट धनकुटा नगरपालिकाको सहयोगमा कोशी एडभेन्चर प्रालि इटहरीले साँगुरीगढीको याक्चनासम्म बिहीबारदेखि परीक्षण उडान भरेको हो ।

प्याराग्लाइडिङबाट आन्तरिक तथा बाहृय पर्यटक आकर्षित गर्नका लागि धनकुटा नगर क्षेत्र भित्रका सम्भाव्यता साहसिक खेलहरु अध्ययन, अनुसन्धान गर्नका लागि प्याराग्लाइडिङको परीक्षण उडान गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

यसअघि भेडेटार, डाँडाबजार, धरान, इलाम, उदयपुरलगायतका जिल्लामा प्याराग्लाइडिङको सफल परीक्षण भएको थियो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिने साहसिक खेल प्याराग्लाइडिङका लागि उपयुक्त स्थान रहेकाले यसलाई व्यवसायिक रूप दिइने कोशी एडभेन्चर इटहरीका निर्देशक सुरेश बस्नेतले बताए ।

धनकुटा नगरपालिकाले चुलीवनबाट प्याराग्लाइडिङमा याक्चना अवतरण गर्ने र याक्चनाबाट मूलघाटसम्म र्‍याफ्टिङ प्याकेजको रुपमा सञ्चालन गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।

कोशी एडभेन्चर प्रा.लि. इटहरीले चुलीवनबाट बिहीबार गरेको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि कम्पनीले प्याराग्लाइडिङ उडानका लागि विस्तृत अध्ययन प्रतिवेदन केही समयमा नगरपालिकालाई बुझाउनेछ । त्यही विस्तृत विवरणको आधारमा निश्चित मापदण्ड बनाएर नगरपालिकाले निजी कम्पनीहरुलाई प्याराग्लाइडिङको उडान भर्न दिने धनकुटा नगरपालिकाले बताएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट