श्रम क्षेत्रमा पनि थुप्रै कानून लागू गरिएको छ: प्रधानमन्त्री

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बालकदेखि वृद्धसम्म हरेक व्यक्तिलाई सामाजिक सुरक्षा पद्धतिबाट सुरक्षा प्रदान गरिएको बताएका छन् ।

विश्व श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८औँ बैठकलाई सोमबार स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले काम गर्न सक्ने उमेरका श्रमिकलाई पनि सामाजिक सुरक्षा ऐनद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिएको बताएका हुन् ।

सन् १९१९ मा स्थापना भएको आइएलओको सम्मेलनमा यसका १८७ सदस्य राष्ट्रका झण्डै छ हजार जनाको प्रतिनिधित्व छ । सम्मेलनलाई करीब ४५ देशका सरकार तथा राष्ट्र प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालमा २५ वर्षदेखि ज्येष्ठ नागरिकलाई वृद्धभत्ता र एकल महिला तथा सीमान्तकृत वर्गका व्यक्तिलाई मासिक भत्ता प्रदान गरिँदै आएको र सो रकम विस्तारै वृद्धि भइरहेको बताउँदै यसै वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

गतिशील अन्तरर्राष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउँदै उनले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको बताए । नेपालका कानूनहरुले नियमित अथवा अनियमित, बाहिरी स्रोतबाट ल्याइएका अथवा करार गरिएका र संगठित अथवा अनौपचारिक क्षेत्रका जुनसुकै श्रमिक भए पनि विभेद नगरेको बताउँदै उनले कामदारहरुको जुनसुकै कामको प्रकृति भए पनि उनीहरुलाई सामाजिक सुरक्षा दिइएको र अनौपचारिक क्षेत्रलाई औपचारिक प्रक्रियामा लगिएको जानकारी दिए ।

नेपालको प्रजातान्त्रिक संविधान समानता, विभेदरहित र सामाजिक न्यायमा आधारित रहेको तथा प्रत्येक व्यक्तिलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रबाट सशक्त तुल्याइएको बताउँदै उनले श्रमका क्षेत्रमा पनि थुप्रै कानून लागू गरिएको जानकारी दिए । प्रधानमन्त्रीले आइएलओ महासन्धि ८७ र ९८ सँग मेल खाने गरी नेपाली श्रमिकहरुलाई ट्रेड युनियन ऐन बनाइएको र त्यसबाट सामूहिक अधिकार सुरक्षा हुने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट