कोरिया जान ८४ हजारले दिए परीक्षा

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

काठमाडौं, २७ जेठ । यस वर्ष दक्षिण कोरिया जान ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । सन् २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच भएको द्वीपक्षीय सम्झौताका आधारमा सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवा कामका लागि कोरिया जान थालेका हुन् ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए । तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित रहेको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कोरियाको मानव संसाधन विभागका महानिर्देशकको नेतृत्वमा ९७ जनाको टोली परीक्षा सञ्चालन गर्न नेपाल आएको छ । जसमध्ये ७२ जनाले काठमाडौं तथा ललितपुरमा र बाँकी २५ जनाले पोखरामा परीक्षा सञ्चालन गरेका थिए । वैदेशिक रोजगार विभागको इपिएस शाखाले परीक्षाको सहजीकरण गरेको थियो । दुई दिनमा अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारवाहीमा परेका छन् ।

भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रको पूर्णांक सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० पूर्णांकको परीक्षा लिइएको हो । जसमा सुनाइ र पढाइमा २०-२० गरी ४० प्रश्न समावेश गरिएको थियो ।

उत्पादनमूलक क्षेत्रतर्फ ४७ दशमलब पाँच र कृषि तथा पशुपालनतर्फ ३६ अंक ल्याउनेमध्ये उच्च अंक प्राप्त गर्नेबाट भाषा परीक्षामा उत्तीर्ण छनोट गरिने इपिएस शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी भने नहुने इपिएस शाखाले स्पष्ट पारेको छ । त्यसका लागि सीप परीक्षा अनिवार्य रूपमा पास हुनुका साथै रोजगारदाता छनोटमा समेत पर्नुपर्ने निर्देशक खनाल बताउँछन् ।

भाषा परीक्षा पास गरेको दुई वर्षसम्म जाने सम्भावना भने रहन्छ । १८ देखि ३९ वर्षसम्मका युवाले इपिएस प्रणालीमार्फत कोरिया जान आवेदन दिन सक्ने व्यवस्था छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट