दुई सय रुपैयाँबाट सुरु भएको वर्त गन्धर्वको यात्रा…(भिडियोसहित)

प्रकाशित मिति: ९ जेष्ठ २०७६, बिहीबार

कसरी आउनुभयो यो क्षेत्रमा ?
म सानो छँदा आमासँग गाउँमा घुम्दै हिड्थे । आमासँगै हिड्दा हिड्दै, सारंगी बजाएको देखेर मैले पनि बजाउन सिके । एसएलसी दिएर काठमाडौं आएपछि संगीत पढ्ने मौका पाए । संगीत सँगै सारंगी बजाउने अवसरहरु पाउन थाले । यसरी नै मलाई संगीत र सारंगीप्रति लगाव बढ्दै गयो र यो क्षेत्रमा निरन्तर लागी परे । सानोमा त रहर भन्दा पनि परिस्थिति र बाध्यताले सारंगी बजाएको थिए । विस्तारै सारंगी बजाउन जान्ने भएपछि एक दुई वटा धुन अनी गीतहरु बजाउन जाने । काठमाडौं आएपछि मैले शास्त्रीय संगीतको विषय लिएर अध्ययन पनि गरेको थिए । पढ्न थालेपछि मैले बल्ल संगीत, सुर, ताल, धुन बारे जान्न थाले । यसरी पढ्दै काम गर्दै जाँदा मैले यो क्षेत्रमा पाइला टेकेकी हुँ ।

महिला भएर सारंगी रेटेर यहाँसम्म आइपुग्दा कतिको अप्ठ्यारो भयो ?
मलाई कहिले पनि तिमी महिला भएर किन सारंगी रेट्दै हिडेको भनेर प्रश्न आएन । त्यस्तो अप्ठ्यारो त भएन तर सानै उमेरमा घर घरमा गएर सारंगी रेट्दै जीविकोपार्जन गर्न त कसलाई मन लाग्छ र ? ती दिन सम्झदा त निकै गा¥हो नै थियो । काठमाडौं आएर पनि संगीत क्षेत्रमा सजिलै छ जीवन चलाउँन भन्न अलि कठीन नै छ । तै पनि गरिराखेकी छुँ ।

पहिलो सारंगी कसले दिएको थियो र अहिले कुन सारंगी छ तपाईंसँग ?
छिमेकी दाईले बनाएको सारंगी आमाले दुई सय रुपैयाँमा किनेर दिनु भएको थियो मलाई । त्यो सारंगी अझै पनि मसित सुरक्षित नै छ । मेलै नेपाल संगीत विद्यालयमा केही समय क्लास लिएको थिए । त्यहाँ मेरो एक जना विद्यार्थी हुनु हुन्थ्यो कमल जी । अहिले वहाँले नै बनाउनु भएको अलि राम्रो आवाज आउने सारंगी बजाउँछु ।

पहिलो पटक रेकर्ड गरेको गीत याद होला नी ?
काठमाडौं आएपछि मैले पहिलो पटक रेडियो नेपालमा माईती किन जाँदै छौं टाढा, गुराँस फुल्यो पहाडी लेकैमा बोलको गीत गाएको थिए ।

भ्वाइस अफ नेपालमा गइसकेपछि कतिको सजिलो भयो यो क्षेत्रमा ?
सजिलो त के नै हुन्छ र ? तै पनि विस्तारै त्यहाँबाट निकै साथ सपोर्टहरु पाए मैले । विदेशमा हुने दाजु भाई दिदी बहिनीहरुले मलाई चिनेपछि लिरिक्सहरु लेखेर, रेकर्डिङ खर्चहरु पठाएर मलाई एकदमै सहयोग गरिराख्नु भएको छ । भ्वाइस अफ नेपालबाट बाहिरिएपछि धनेन्द्र रसाईली सरले गीत दिएर मलाई सहयोग गर्नु भएको थियो । त्यो गीतको लागि खर्चहरु पठाइदिएर नै मैले गीत रेकर्ड गरी अमेरिका पठाउन सफल भए । म आफैं गीत कम्पोज पनि गर्ने हुनाले प्राय मेरै संगीतमा गीतहरु निस्केका छन् ।

परिवारमा को को हुनुहुन्छ ? श्रीमानको साथ कत्तिको पाउनु भएको छ ?
काठमाडौंमा म र मेरो श्रीमान् अनि गाउँमा आमा बुवा, सासु ससुरा, भाई बहिनी, नन्द, देवर सबै हुनु हुन्छ । श्रीमानको साथ सपोर्टले नै आज म यहाँसम्म आइपुगेकी छुँ । एकदमै सपोर्ट गर्नु हुन्छ मलाई ।

के गर्नुहुन्छ श्रीमानले ?
वहाँले नी स्कुलमा सारंगी भोकल सिकाउनु हुन्छ ।

हाल के मा व्यस्त हुनुहुन्छ ?
पहिला त जागिर गर्थे तर अहिले जागिर छैन । लिरिक्सहरु आइराखेको हुन्छ, त्यसलाई कम्पोज गर्दै बसी राख्छु भनौं ।

सम्मानहरु पनि पाउनु भएको होला नी ?
सम्मान त पाएकै छुँ थुप्रै । भ्वाइस अफ नेपालबाट भोजपुरको नाम राख्न सफल भएको भन्दै जिल्लाबाट सम्मान पाएको थिए । यस्तै राष्ट्रिय नाट्य प्रतिष्ठानले शास्त्रीय संगीतमा राग बजाएको भनदै सम्मान गरेको थियो भने जंगबहादुर गन्धर्व प्रतिष्ठानबाट पनि जंगबहादुर पुरस्कार पाएको थिए । यस्ता थुप्रै सम्मानहरु पाएको छुँ ।

पहिला र अहिले के फरक पाउनु भयो जीवनमा ?
धेरै नै फरक पाएँ नी । भ्वाइस अफ नेपालमा गएपछि अहिले धेरैले चिन्नु हुन्छु । बाटोमा हिड्दा पनि धेरैले वर्त गन्धर्व भन्छन् । दर्शकहरुले दिएको माया र हौसलाले नै अहिले संगीत क्षेत्रमा अझ बढी लागी परेको छुँ ।

साधना कत्तिको गर्नुहुन्छ ?
साधना त धेरै गर्नु पर्छ नी । संगीतमा लाग्छु मात्रै हुँदैन, मिहिनेत र साधना पनि उत्तिकै गर्न सक्नुपर्छ ।

घर र संगीतका लागि कसरी समय मिलाउनु भएको छ ?
महिला भएपछि घरको काम नी गर्नै प¥यो । बिहान बेलुका घरको काम गर्छु मैले अनी दिनमा चाँहि संगीत क्षेत्रको काम गर्छु । यसरी मिलाकै छुँ अहिलेसम्म ।

संगीत क्षेत्रबाट सन्तुष्ट हुनुहुन्छ ?
एकदमै । दर्शकहरुले मेरो गीत संगीतलाई मन पराएर माया गरिदिनु भएको छ । म एकदमै सन्तुष्ट छुँ ।

अन्त्यमा आफ्ना सहयोगी हातहरुलाई के भन्न चाहनुहुन्छ ?
मलाई माया गर्ने, साथ सपोर्ट दिने सबैलाई धन्यवाद भन्छु । तपाईंहरुको साथ र सपोर्टले नै आज यहाँसम्म आइपुगेकी छुँ । मलाई सपोर्ट गर्ने कुटुम्ब ब्याण्ड, नैनतारा कक्षपति दिदी, भूषण शिल्पाकर सर, मलाई काठमाडौं ल्याउने गोपाल शिवाकोटी चिन्तन सर लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट