पत्रकार महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

प्रकाशित मिति: ५ जेष्ठ २०७६, आईतवार

काठमाडौं, ५ जेठ । पहिलो चरणको आन्दोलन सकिँदासम्म सरकारले माग पूरा गर्न कुनै पहल नगरेको भन्दै नेपाल पत्रकार महासंघले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही प्रावधान खारेज गर्न माग गर्दै आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

जस अनुसार जेठ ६ र ७ गते महासंघका पूर्व अध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने दलहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग परामर्श र सञ्चार अभियान चलाउने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल गरिने महासंघका महासचिव रमेश विष्टले जानकारी दिए ।

यसैगरी, जेठ २१ र २२ गते महासंघका सबै जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघ संस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने र जेठ २५ गते दिउँसो ३ बजे नयाँ बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो प्रदर्शन गर्ने र काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेका ठाउँमा यस्तै प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने निर्णय गरिएको छ ।

महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । महासंघको जेठ ६ गतेदेखि सुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट