एजेन्सी
कोलम्बो । श्रीलङ्कामा आजबाट अनुहार छोप्ने पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । श्रीलङ्कामा अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि त्यहाँको सरकारले सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो ।
अघिल्लो साताको आइतबार श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा शृङ्खलाबद्ध बम बिस्फोटमा करिब दुई सय ५० जनाको मृत्यु भएको श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि यो आकस्मिक उपयाहरूमध्ये एक उपाय अपनाइएको जानकारी दिएका छन् । अधिकारीहरूको निर्णय अनुसार अब कसैले पनि अनुहार नदेखिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन्।
शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो । एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो।
अनुहार छोप्ने पहिरन प्रतिबन्धामा कुनै विशेष पहिरनको उल्लेख गरिएको छैन । तर यस्तो प्रतिबन्ध मुस्लिम महिलाहरूले प्रयोग गर्ने पहिरनप्रति लक्षित रहेको देखिएको छ। मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ‘निकाब’बारे प्रष्ट उल्लेख गरिएको छैन ।
अन्य मुस्लिम देशहरूमा भन्दा श्रीलङ्काका मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन कम नै लगाउने गर्छन् । तर पछिल्ला वर्षहरूमा भने श्रीलङ्कामा पनि अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको बताइन्छ।