अबदेखि मकवानपुरमा खुला दूध बेच्न नपाइने

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

हेटौंडा, ११ वैशाख । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले वैशाख १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको हो । दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय हेटौंडाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको टोलीले दिएको प्रतिवेदनका आधारमा सो निर्देशिका कार्यान्वयन गर्न लागेको हो ।

निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि खुला तथा प्लाष्टिकमा राखी रबरले बाँधेर प्याक गरेको दूध बिक्री गर्न नपाइने प्रशासनले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट