रीना हत्या प्रकरणः प्रेमी कमल नेपाल पक्राउ, आन्दोलन स्थगित

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

पथरी, ११ वैशाख । पथरीको शनिश्चरे-१ मा गत शनिबार बिहान नग्न अवस्थामा मृत फेला परेकी रीना बस्नेतको हत्या गरेको आशंकामा प्रहरीले उनका प्रेमीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार साँझ रीनाका प्रेमी भनिएका कमल नेपाललाई पक्राउ गरेको हो ।

विदेशमा रहेका रीनाका श्रीमान घटनापछि नेपाल फर्किएका छन् । रीना हत्या प्रकरणबारे ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागि आन्दोलन स्थगित गरिएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बीचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागि आन्दोलन फिर्ता लिएको र सडकको अवरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिइन् ।

पथरीमा ब्यवसाय गर्दै आएकी रीना मोरङको सुन्दरहरैचाकी बासिन्दा हुन् । उनको हत्या भएको भन्दै आक्रोशित स्थानीयले पथरीमा आन्दोलन गरिरहेका छन् । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय सोमबारदेखि थप आन्दोलित भएका थिए ।

नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रीना बस्नेतको हत्यारा सार्वजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको थियो । प्रहरी र स्थानीय बासिन्दा बीच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका थिए ।

श्रीमान वैदेशिक रोजगारीमा रहेको हुँदा रीना १४ वर्षीय छोरा साइमन बस्नेतसँग पथरीमा बस्दै आएकी थिइन्। साइमनले आफूसँगै सुतेकी आमा रीना बस्नेतको मृत्यु भएको शनिबार बिहान मात्र थाहा पाए । आमा कुन समयमा बाहिर गइन् र उनको कुन समयमा मृत्यु भएको त्यो उनले चाल नै पाएनन्।

साइमनका अनुसार घटना भएको रात हाल वैदेशिक रोजगारीको लागि दुबईमा रहेका बाबुसँग कुराकानी भएको थियो । रीना शनिबार बर्थ डे पार्टीमा सहभागी भएर फर्किएपछि राति ९ बजेतिर पथरी बजारमा आयोजित कन्सर्ट हेर्न गएको साइमन बताउँछन्।

राति ११ बजेतिर छोरासँगै फर्किएकी उनले मदिरा समेत सेवन गरेको खुल्न आएको छ।आफू सुत्नु अगाडी आमा रीना फोनमा व्यस्त रहेको र आफू १२ बजेतिर निदाएको साइमनको भनाइ छ। राति के भयो, कसरी नग्न अवस्थामा रीना बाहिर पुगिन् उनले केहि पनि थाहा नपाएको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट