प्रिय तिमीलाई भेट्न तिम्रो शहरमा आउन सक्दिन म…

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रिय मो,
तिमीलाई भेट्न
तिम्रो शहरमा
आउन सक्दिन म

लुला छन मेरा गोडाहरु
बन्दगीमा छ सामर्थ्य

लिलामिमा नबिक्ने
एक थान बुढ्यौली काया लिएर
जम्मै जिन्दगी भन्दा ठूलो तिम्रो याद बोकेर
तिम्रो शहरमा आउन असमर्थ छु

बरु यो शहरमा
तिमी आउने चर्चा सुनेर
चुपचाप चुपचाप रमाए
र, कुर्न थाले त्यसै दिनदेखि
तिमि आउने समय…

तिमीलाई कुर्दा कुर्दै
ऋतु फेरिए, काल बिते
हज्जारौ घाम उदाए,अस्ताए
स्वयम बुढो भए

तर तिमी आउदै आएनौ
‘गोदोत’ झै तिमी कता गायब भयौ ?

प्रिय मो,
तिमीलाई पर्खिदा पर्खिदै
कुनै दिन
यो अस्तित्वको गल्लीबाट हराएरबिलाए भने

एउटा जरुरी कुरा
तिमीलाई सुनाउनै बाँकी रहने छ
तर, त्यो जरुरी कुरा
तिमीलाई नै सुनाउने छु

एउटा यस्तो जब्बर विश्वास
सधै म सँगै बाँचीरहेछ…


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट