आन्दोलन स्थगन गर्दै काममा फर्किए सरकारी डाक्टर

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार

काठमाडौं, १ वैशाख । देशभरका सरकारी डाक्टर आन्दोलन स्थगन गर्दै आफ्नो काममा फर्किएका छन्।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा आन्दोलनरत देशभरका चिकित्सकले गत चैत १७ देखि आकस्मिकबाहेक आफू कार्यरत अस्पतालका सबै उपचार सेवा बन्द गरेका थिए।

कर्मचारी समायोजनमा चिकित्सकको दरबन्दी संघअन्तर्गत हुनुपर्ने माग राख्दै देशभरका करिब १४ सय सरकारी चिकित्सक गोदानको नेतृत्वमा आन्दोलनरत थिए। शनिबार राति सरकार र संघबीच भएको वार्तामा भएको सहमतिअनुसार चिकित्सक आन्दोलन फिर्ता गरेर काममा फर्कन राजी भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा सरकारले समस्या समाधान का लागि १६ दिनको समय मागेकाले १५ दिनसम्म सरकारी अस्पताल बन्दको कार्यक्रम स्थगन गरिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ।

नयाँ वर्ष २०७६ सालको सुरुवातसँगै देशभरका सरकारी डाक्टरहरुले आन्दोलन स्थगन गर्दै सरकारी अस्पतालका सबै सेवा खुल्ला गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट