रिपोर्टर नेपाल समाचार
सोलुखुम्बु, १ वैशाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
लुक्लाबाट रामेछापका लागि बिहान ९ः२० मा उडान भर्न लागेको समिट एयरको विमान धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको घट्ना स्थलमै मृत्यु भएको हो भने दुर्घटनामा घाइते भएका अर्का असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएर दुर्घटना भएको हो । उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो ।
दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।
दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर। लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।