आजबाट नयाँ वर्ष २०७६ साल सुरु

प्रकाशित मिति: १ बैशाख २०७६, आईतवार

काठमाडौं, १ वैशाख । आजबाट नयाँ वर्ष २०७६ साल सुरु भएको छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ । नयाँ वर्षकोा अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकआपसमा शुभकामना आदानप्रदान गरेर आइतबार नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष सम्मत्सर राम्रो रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समयसमयमा पानी पर्ने भएकाले यो वर्ष कृषि उत्पादन राम्रो हुनेछ भने राजा शनि र मन्त्री सूर्य ग्रहमा रहेको हुँदा दलबीच भने आवश्यक मेलमिलाप र हार्दिकतामा कमी आउन सक्ने सम्भावना छ ।

नयाँ वर्षमा हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नयाँ वर्षका अवसरमा काठमाडौंको उत्तरी भेगस्थित बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (बागमती नदीको उद्गमस्थल)लगायतका स्थानमा आज विशेष मेला लाग्छ ।

काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात सपन तीर्थमा आजका दिन स्नान गरेमा शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ ।

नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट