देशभर चैते दसैँ तथा रामनवमी पर्व मनाईँदै

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार

काठमाडौं, ३० चैत । आज देशभर चैते दसैँ र रामनवमी पर्व मनाईँदै छ । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको छैटौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । भगवान रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

चैते दसैँ तथा रामनवमी पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको घुईँचो लागेको छ । यस वर्ष चैत ३० गते शनिबार चैत्र शुक्ल अष्टमी र नवमी अर्थात् चैतेदशैँ एवं रामनवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वान्ह र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको हो ।

रामनवमीका अवसरमा आज राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामस्थित राममन्दिरलगायत देशभरका राम मन्दिरमा भक्तजनको भिड लागेको छ । यसैगरी काठमाडौंको गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भिड लागेको छ ।

उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको घुईँचो लागेको छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

केही राम मन्दिरमा भने वैशाख १ गते आइतबार नव वर्षका दिन रामनवमी पर्व मनाइने जनाइएको छ । शनिबार अपराह्न र आइतबार पूर्वाह्नमा नवमी तिथि रहेको समितिले जनाएको छ । अपराह्नमा तिथि परेका दिन रामनवमी मनाउनेले आज र पूर्वाह्नका दिन नवमी तिथि मनाउनेले आइतबार पर्व मनाउन लागेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट