सेयर लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा तालाबन्दी

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार

काठमाडौं, १० चैत । आफूहरुले राखेका ३२ बुँदे मागमा धितोपत्र बोर्डले बेवास्ता गरेको भन्दै सेयर बजारका लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेका छन् ।

आइतबार बिहान सेयर बजार सुधार र विस्तारका लागि चरणबद्ध आन्दोलन घोषणा गरेको सेयर बजार लगानीकर्ता दबाव समूहले जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो । समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोली ताला लगाउन आइतबार बिहानै बोर्ड कार्यालयमा पुगेको थियो ।

दबाब समूहले ताला लगाएपछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । भित्र थुनिने कर्मचारीको नाम भने खुलाइएको छैन । सरकारले पुँजीबजारलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्नुपर्ने, दोहोरो कर हटाउनुपर्ने पुँजीबजार प्रत्यक्ष वैदेशिक लगानी भित्राउन नपाइनेलगायतका माग सेयर लगानीकर्ताले राखेका छन् ।

आफूहरुले राखेका ३२ बुँदे मागमा धितोपत्र बोर्डले बेवास्ता गरेकोले तालाबन्दी गर्नुपरेको लगानीकर्ता दबाब समूहका हरी ढकालले बताए । उनीहरुले माग पूरा नभएमा नेपाल स्टक एक्सचेन्जमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट