विज्ञान कै कारण अरुको मिर्गौला लिएर प्रधानमन्त्री बनेको मान्छे मै हुँ

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञानकै कारण अरुको मिर्गौला लिएर प्रधानमन्त्री बनेको मान्छे मै हुँ भन्दै विज्ञानले ठूलो करामत गरिसकेको बताएका छन् ।

तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान कै करामतले आफू अहिले प्रधानमन्त्री बन्न सफल भएको बताए । विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार रोगहरु बढ्न नदिने प्रयासमा लागेको बताए ।

दुषित पानी,पोषणयुक्त खानाको अभावमा, गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित, अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे । मान्छे जति कम सुत्छ, उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न पनि आग्रह गरे ।

सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए । तिलोत्तमा नगरपालिका-१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ ।

उद्घाटन भएको मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेले बताए ।

आयोजना कार्यालय स्थापना भए पनि तत्काल फिल्डमा काम भने हुनेछैन । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुनेछ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट