सेती अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु, आफन्तले गराए धनगढी बजार बन्द

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

कैलाली, ८ चैत । सेती अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा प्रदर्शन सँगै धनगढी बजार बन्द गराएका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापालाई सुत्केरी व्यथा लागेपछि चैत ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरिएको थियो । अस्पतालमा रेखाको शल्यक्रिया गरियो र उनले स्वस्थ शिशु जन्माइन् । शिशुको अवस्था सामान्य रहे पनि शल्यक्रियापछि रेखाको भने पेट सुन्निएको मृतकका श्रीमान् जय थापाले बताए ।

उपचारमा संलग्न चिकित्सकले ‘ग्यास्ट्रिक’को कारण देखाउँदै दुई दिनसम्म रेखाको उपचार गरिरहे पनि थप उपचारका लागि केही नभनेको उनको आरोप छ । पेट सुन्निने समस्या कम नभएपछि रेखालाई थप उपचारका लागि ७ गते बिहान बाँकेको कोहलपुर ‘रेफर’ गरिएकोमा रेखाको बाटोमै मृत्यु भएकोथियो ।

रेखाको उपचारका क्रममा बिहीबार मृत्यु भएपछि शुक्रबार सेती अञ्चल अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । चिकित्सकको लापरवाहीका कारण रेखाको मृत्यु भएको भन्दै आफन्तले शव बुझेका छैनन् ।

मृतकका आफन्तले ‘लापरवाही’ गर्ने चिकित्सकलाई कारवाही गरिनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले घटनाको छानबिन हुनुपर्ने, बच्चाको स्याहार–सुहारको व्यवस्था हुनुपर्नेलगायतका माग गरेका छन् । मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको छ ।

यता सेती अञ्चल अस्पतालका डा. खगेन्द्रप्रसाद भट्टले चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु नभएको स्पष्ट पारेका छन् । उनले जनशक्ति अभावका कारण बिरामीलाई उचित ध्यान दिन नसकेको स्वीकार गरे । तर, लापरवाहीले नै मृत्यु नभएको उनको दाबी छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट