भारतीय भन्सारले रोक्यो पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार

बाँके, ७ चैत । पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर भारतीय भन्सारले दुई दिनदेखि रुपैडिया नाकामा रोकेको छ ।

भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै दुई दिनदेखि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक रोकेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले फलफूल र तरकारी गाडी कागजी प्रक्रिया मिलाएर छोड्ने सहमति भए पनि पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भने अनलाइन सेवा सञ्चालन नभएसम्म नेपाल आउने सम्भावना नरहेको बताए ।

१० लाख रुपैयाँभन्दा बढी इनभ्वाइसको सामानलाई भन्सार क्लियर गराउन भन्सारका डेपुटी कमिसनरको अनुमति लिनुपर्ने बाध्यता भारतीय कर्मचारीले देखाएका छन् ।

भन्सारका डेपुटी कमिसनरको कार्यालय लखनउमा भएका कारण अनुमति लिन समस्या भइरहेको र कागजी प्रक्रियाबाट ट्याङ्कर छोड्नकै लागि पनि समय लाग्ने भारतीय भन्सारका कर्मचारीले बताएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत केसीले बताए ।

नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिशेखकुमार ठाकुरले पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भित्र्याउन पहल भइरहेको जानकारी दिए ।

भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा अवरोध गर्दै आएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट