यसरी भएको थियो काभ्रेमा विप्लव र प्रहरीबीच भिडन्त

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार

काभ्रे, ७ चैत । नेकपा माओवादी विप्लव समूहका नेताहरु बैठक सकिएर फर्कदै गर्दा पक्राउ परेको विप्लव समूहका नेताहरुले बताएका छन् । ‘बैठकमा सहभागी भएर फर्कदै गर्दा नेताहरु पक्राउ परे’ –विप्लव समूहका एक नेताले बताए ।

प्रहरीले भने महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौंमा पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका–२ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई पक्राउ गरिएको बताएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेकाले आत्मरक्षाका लागि ४ राउन्ड फायर गरेको बताएको छ । यो खबर नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

चार राउन्ड फायर गरेपछि उक्त समूह भागेको र भागेकामध्ये झापा मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोक जुगलका विशाल पक्राउ परे । उनीहरुको साथबाट मोबाइल ६ थान, चार्जर ४ थान, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताब तथा अन्य मोबाइलहरु समेत फेला परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई नख्खुमा रहेको एनसेल कार्यालय अगाडि गत फागुन १० गते बम विस्फोटन गराई एक जनाको मृत्यु भएको तथा दुई जना घाइते भएको र सोही दिन बेलुका काठमाडौंको कमलपोखरी अगाडिको लोत्सेचोकमा रहेको आँगन मिठाई पसलमा बम विस्फोट गराएको अभियोग लगाइएको छ ।

फागुन २४ गते बेलुका बसुन्धरामा रहेको रोहन गुरुङको घरमा बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । सबै घटनामा विप्लव समूहका मध्यक्षेत्रीय कमान्डरहरु संलग्न रहेका प्रहरीको निष्कर्षसहित उनीहरुको खोजी गरिरहेको थियो ।
मध्यक्षेत्रीय कमान्डमा प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओलीको कमान्डमा काठमाडौंका सबै घटनामा पक्राउ परेका कमान्डहरुको संलग्नता रहेको थियो । ११ जनाको उनको समूहमा विभिन्न जिल्लाका नेताहरु सहभागी थिए ।

काठमाडौंमा आक्रमणपछि काभ्रेको रोशी तथा महाभारत क्षेत्रमा लुकेर बसेको प्रहरीको सूचना थियो । सोमबार देउपुर हुँदै विप्लव समूहको टोली रोशी गाउँपालिका माथि काफलडाँडा नजिकै बैठक बसेको थियो ।

बैठकमा नेता ओलीलगायतको सहभागिता थियो । विशाल र शिव मोटरसाइकलमा उक्त स्थानसम्म पुगेका थिए । मोटरसाइकल बैठकस्थलसम्म नपुग्ने भएकाले उनीहरुले केही तल राखेर गएका थिए । काठमाडौंमा आफ्ना साथीहरु पक्राउ गरेको सूचना पाइसके पनि प्रहरी तत्काल बैठक स्थलमै आइपुग्छ भन्ने सुईको उनिहरुले पाउन सकेनन् ।

ओली केही समयअघि नै हिँडिसकेकाले प्रहरीको विशेष अप्रेसनमा पक्राउ पर्न सकेनन् । उनीहरुले प्रयोग गरेको मोटरसाइकल बुधबार विप्लव समूहका अन्य कार्यकर्ताले लगेको स्थानीयले बताएका छन् ।

काफलडाँडामा मध्यक्षेत्रीय कमान्डको बैठक बसेको विप्लव समूहका नेताले पुष्टि गरेका छन् । ‘हामी रणनीति बनाउने बैठक सकेर फर्कँदै थियौं’, एक नेताले भने– ‘प्रहरीले भने जस्तो हामीसँँग ठूलो समूह पनि थिएन र हामीबाट कुनै जवाफी कारवाही भएको होइन, प्रहरी आफैंले फायर गरेर उनीहरुलाई पक्राउ गरेको हो ।’ मोटरसाइकल लिन जाने क्रममा दुई जनालाई फेला पारेका कारण पक्राउ गर्न सफल भएको ती नेताले बताए ।

महाभारत लेकमा रहेको उक्त स्थान चारवटा गाउँपालिकाको संगम मानिन्छ । खानिखोलाको डाँडागगाउँ, बेथान्चोकको भुग्देउ महांकाल, रोशीको शिखरआम्बोटे र महाभारतको महादेवटार क्षेत्र उक्त स्थानको केन्द्र हो । मोबाइल लोकेसनका आधारमा अपराध अनुसन्धान महाशाखाको टोली मंगलबार दिउँसैबाट काभ्रेका विभिन्न स्थानमा परिचालन भएको थियो ।

लोकेसनकै आधारमा विस्फोटमा संलग्न व्यक्तिहरुको पहिचानसहित पक्राउका लागि एसपी सोमेन्द्रसिं राठौरको कमान्डमा प्रहरी परिचालन भएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का समेतलाई जानकारी नदिई उक्त समूह पक्राउ गर्न पुगेको महाशाखाको टोली राति ११ बजे फर्किएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट