आज ‘गिरिजाबाबु’को ९औँ स्मृति दिवस

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार

काठमाडौं, ७ चैत । निडर र दूरदर्शी नेताका रूपमा चिनिने सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वि.सं १९८१ मा जन्मिएका ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो । कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र आएको थियो । कोइराला क्रान्तिकारी नेता थिए । २०४६ सालभन्दा अगाडिसम्म उनी क्रान्तिकारी थिए ।

उनको हक्की स्वभावकै कारण कोइराला कांग्रेसको नेतृत्व गरेका थिए भने चार पटकसम्म प्रधानमन्त्री पनि भएका थिए । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए ।

०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट विरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए ।

लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ ।

उनको स्मृतिमा कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले देशका विभिन्न स्थान र विदेशमा रहेका नेपालीहरुले पनि विविध कार्यक्रम गर्ने गर्दछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट