भीरको आगो गाउँमा फैलिँदा ६ घर जलेर नष्ट

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार

पाँचथर, ३ चैत । भीरमा लागेको आगो गाउँमा फैलिँदा ६ घर जलेर नष्ट भएका छन् । हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भीरमा शनिबार राति लागेको आगो गाउँ पस्दा मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् ।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए ।

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रण बाहिर रहेको जानकारी प्राप्त भएको छ । जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट