आज विश्व मिर्गौला दिवस, बेला–बेलामा मिर्गौला जाँच गर्न सुझाव

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं, ३० फागुन । ‘मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर’ भन्ने नाराका साथ विश्व मृगौला दिवस विविध कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष मार्च १४ का दिन मनाइने दिवसका अवसरमा विभिन्न अस्पताल तथा संस्थाहरुले निःशुल्क परीक्षणसहित मृगौला रोग तथा यसबाट बच्ने उपायहरुका बारेमा जनचेतना मूलक कार्यक्रम गरी मनाईँदैछ ।

समय समयमा जाँच गराएर मिर्गोलासम्बन्धी समस्याबाट जोगिन सकिने मिर्गौला रोग विशेषज्ञ डाक्टर पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । मिर्गौला रोग लाग्नै नदिन स्वस्थ खाना खाने, नियमित व्यायाम गर्ने, फलफूल एवम् आवश्यक मात्रामा पानी पिउन पर्ने र बेलाबेला जाँच गर्नुपर्ने पनि उनको भनाई छ ।

नेपालमा २६ लाख भन्दा बढी मानिसमा मृगौलाको केही न केही समस्या रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रको तथ्याङ्क छ । मृगौलालाई स्वस्थ राख्न बर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न डाक्टरले सुझाव दिएका छन् ।

आनीबानी र खानपानका साथै जीवनशैली स्वस्थकर नहुँदा मिर्गौला बिग्रनेको संख्या बढेको चिकित्सकहरु बताउँछन् । खुट्टा सुन्निने, बिहान उठ्दा आँखाको डिल सुन्निने, पिसाब धमिलो आउने र राती सुतिसकेपछि पनि पटक–पटक पिसाब आएमा मिर्गौलाको लक्षण हुन सक्ने भएकाले सावधान रहन पनि डाक्टरले सचेत गराएका छन् ।

मिर्गौलाले पिसाब बनाउनुका साथै रगत शुद्धीकरण गर्ने, शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । तर मृगौलामा खराबी आउँदा यी काम बन्द हुने डाक्टर बताउँछन् ।

नेपालका विभिन्न अस्पतालमा अहिले पनि ४५ सय भन्दा धेरै ब्यक्ति डायलासिस गरिरहेका र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको संख्या १३ सय नाघेको मिर्गौला विषेशज्ञ डाक्टर ऋषिकुमार काफ्लेले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट