चिनी उद्योगले उखु खरीद नगर्दा किसान बिचल्लीमा

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

नवलपरासी, २९ फागुन । चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै उखु खरीद नगरेपछि पश्चिम नवलपरासीका उखु किसान बिचल्लीमा परेका छन् ।

पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेती गरिन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखु खेतीमा संलग्न छन् । पश्चिम नवलपरासीमा वार्षिक करिब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । यसवर्ष समयमै उखु पेलानी नहुनु र ढिलै भए पनि सबै उखु पेलानी नहुने भएपछि लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ ।

अहिले पश्चिम नवलपरासी जिल्लामा रहेका इन्दिरा, लुम्बिनी र वाग्मती गरी तीन ठूला उद्योग सञ्चालनमा छन् भने मोहीनी चिनी उद्योग स्थापना भएको वर्षबाहेक पूर्ण रुपमा बन्द रहँदै आएको छ । सञ्चालनमा रहेका चिनी उद्योग पनि बीचबीचमा विभिन्न प्राविधिक कारणले अबरुद्ध हुनु र लुम्बिनी चिनी उद्योगले सूचना टाँस गरेर केही दिनमात्रै उद्योग सञ्चालनमा आउने जनाएपछि यस वर्ष उत्पादन भएका सबै उखु पेलिने सम्भावना निकै कम छ ।

सञ्चालनमा आएका चिनी उद्योगले पनि उखु किसानसँग पर्याप्त मात्रामा उखु खरीद नगरेपछि किसान चिन्तित बनेको उखु किसानका अगुवा प्रतापपुर–६ गुठीप्रसौनीका धीरज त्रिपाठीले बताए । यसपटक चिनी उद्योगहरुले आवश्यकताअनुसार मात्र उखु खरीद गर्ने गरेकाले किसानले उत्पादन गरेको सबै उखु यस वर्ष खपत नहुने उनी बताउँछन् ।

इन्दीरासुगर मिलबाट अघिल्लो वर्षको करिब चार करोड उखु खरीद गरेबापतको बाँकी रकम हालसम्म पनि किसानले पाएका छैनन् । अझ चिनी उद्योगले उखु किसानले उत्पादन गरेको सबै उखु खरीद नगर्ने अवस्था देखिएपछि किसान मर्कामा परेका हुन् ।

अघिल्लो वर्षको रकम नपाउने र यस वर्ष सबै उखु उद्योगले खरीद नगर्ने भएपछि किसान दोहोरो मारमा परेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट