एक वर्षभित्रमा दश हजार सार्वजनिक स्थलमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने वर्ल्डलिंकको लक्ष्य (भिडियोसहित)

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आईतवार

काठमाडौं, २६ फागुन । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. ले आफ्ना सेवा सुविधासम्बन्धी भइरहेका कार्य र आगामी योजनाहरुबारे जानकारी दिएको छ । वर्ल्डलिंकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कम्पनीका हालसम्मका उपलब्धी र आगामी कार्ययोजनाका साथै पब्लिक वाईफाई प्रोजेक्ट, वायर म्यानेजमेण्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेटसम्बन्धी संचालन गरिएका चेतनामूलक कार्यक्रम र हाल संचालनमा रहेका इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्टलगायतका विषयमा जानकारी गराएको हो ।

कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, संचालक मनोज अग्रवाल, अर्का संचालक विजय जालन र सीईओ केशव नेपालको उपस्थिति रहेको थियो । वि.सं २०५२ सालमा स्थापना भएको वर्ल्डलिंकले हालसम्म देशका ७० वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ । प्रोडक्टमा निरन्तर परिमार्जन र सुधार गर्दै वर्ल्डलिंकले हाल रु. १२५० मा गो एप, टाईम ब्याक, म्यानेज्ड वाईफाई, नेटटिभी र सेफनेट जस्ता इन्टरनेटको नयाँ स्ट्याण्डर्ड नामक प्रोडक्ट उपलब्ध गराउदै आएको कम्पनीका सीईओ केशव नेपालले बताए ।

कम्पनीले पब्लिक वाईफाई प्रोजेक्ट अन्तर्गत नि:शूल्क रुपमा पशुपति विकार क्षेत्र, बौद्ध, शंख पार्क, बालाजु बाईसधारा, स्वयम्भु, बसन्तपुर, एयरपोर्ट तथा पोखरा र वीरगञ्ज महानगरपालिका कार्यालय लगायतका स्थानमा सेवा दिँदै आइरहेको र भविष्यमा अझ थप स्थानहरुमा सेवा दिँदै जाने नेपालले जानकारी दिए ।

इन्टरनेटको प्रयोग सम्बन्धी जनचेतना जगाउने उद्देश्यले वर्ल्डलिंकले हालसम्म ३९ वटा विद्यालयका २ हजार ३८ विद्यार्थीहरुलाई यससम्बन्धी ज्ञान प्रदान गरिसकेको छ । कम्पनीले आगामी महिनाभित्रमा करिब १० वटा ग्रामीण क्षेत्रमा इन्टरनेट उपलब्ध गराउनुका साथै एक वर्षभित्रमा दश हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लगायतका थुप्रै लक्ष्य लिएको अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए ।

कार्यक्रममा सीर्एओ नेपालले कम्पनीको सेवा सुविधा र आगामी योजना बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले राखेका जिज्ञासाहरुका अध्यक्ष अग्रवाल, संचालकद्वय अग्रवाल र जालन र सीईओ नेपालले उत्तर दिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट