राष्ट्रपतिको सवारी स्कर्टिङका लागि १४ करोडका कारगेड बाइक खरिद

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आईतवार

काठमाडौं, २६ फागुन । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ ।

प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड)मा प्रयोग हुँदै आएको जानकारी उच्च स्रोतले दियो । त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प्रयोग भइरहेका छन् ।

राष्ट्रपतिको प्रयोगका लागि डेढ अर्ब रुपैयाँ बराबरको हेलिकोप्टर र १४ करोडका कारगेड मोटरसाइकल किन्ने निर्णयपछि सरकारको चौतर्फी आलोचना भएको थियो । उच्च पदस्थ अधिकारीहरु सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी भिभिआइपीका लागि १३ करोड ९७ लाख रुपैयाँमा ६ सय ५० सिसीका ३० वटा जापानी सुजुकी स्कर्टिङ मोटरसाइकल खरिद सम्झौता भइसकेको छ ।

खरिद क्रममा रहेका ती मोटरसाइकल प्रतिएकको मूल्य ४६ लाख ६० हजारभन्दा बढी पर्छ। प्रहरीले २०५८ सालपछि पहिलोपटक गुणस्तरयुक्त कारगेड मोटरसाइकल खरिद हुन लागेको जनाएको छ ।

‘नेपाल प्रहरीलाई ३० वटा कारगेड मोटरसाइकल खरिद गर्न आवश्यक बजेट विनियोजन गर्ने,’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ । त्यहीं निर्णयका आधारमा मोटरसाइकलको मूल्य टेन्डरबाट निर्धारण गरेर खरिद प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ ।

कारगेड मोटरसाइकल किन्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयका नाममा बजेट निकासा गरिसकेको छ। प्रहरीका अनुसार यी मोटरसाइकल २०७६ असारसम्म काठमाडौं आइपुग्ने छन्। २०५८ पुस २२ गते (सन् २००२ जनवरी २–४)मा सम्पन्न ११औँ सार्क शिखर सम्मेलनका लागि पनि ३० वटा कारगेड मोटरसाइकल खरिद गरिएको थियो।

२०७१ मंसिर १० र ११ (सन् २०१४ नोभेम्बर २६–२७) गते काठमाडौंमै सम्पन्न १८औँ सार्क शिखर सम्मेलनमा आएका पाहुनाको स्कर्टिङका लागि समेत ७६ वटा मोटरसाइकल खरिद गरिएको थियो । यो समाचार नागरिक दैनिकले छापेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट