उषा पाण्डेय
विश्वको जुनसुक्कै
वैज्ञानिकलाई आग्रह गर
उसले सक्ने छैन कसैलाई जीवन दिन
विश्वको जस्तो सुक्कै चित्रकारलाई खोज
उसले सक्ने छैन जीवनको रंग भर्न
मैले त प्रकृतिबाट पाएको यो जीवन लिला
मलाई त अस्तित्वले दिएको यो मानव चोला
म जन्मिदा त थिए केवल मानव
तिम्रै समाजले बनायो मलाई महिला
मैले पाएको यो अमूल्य जीवन छाउपडी
गोठभित्र मर्न होइन
मेरो अतूल्य अस्तित्व कसैको घरभित्र दाइजो
भर्न होइन
किनेर किन्न नसकिने मेरो जिन्दगी
राख्न नखोज यसलाई बन्दगी
म त निलो निरभ्र आकाश भै फैलिन चाहन्छु
तर साघुरो भैदिन्छ तिमीले मलाई दिएको संसार
म त सूर्यको किरण सापटी लिई चम्किन चाहन्छु
तर मधूरो भैदिन्छ तिमीले मलाई दिएको प्रकाश
म उड्नलाई तयार छु
छेक्न नआऊ मेरो बाटो
म फूल्नलाई तयार छु
पत्थरिलो नबनाइँ देउ यो माटो
एक एक पल जिउनु छ मलाई
प्रत्येक स्वास बाच्नु छ मलाई
तिमीले भने झैँ अभागी हुदै होइन म
तिमीले सोचे झैँ अबला हुदै होइन म ।