जनतामाझ लोकप्रिय रबिन्द्र अधिकारी यस्ता थिए…

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने नेकपाका प्रतिभाशाली युवा नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी जनतामाझ निकै लोकप्रिय थिए । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रबिन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए ।

उनै युवा नेता अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भयो । उनको मृत्युसँगै देशले एक आशा लाग्दा युवा नेता एवं मन्त्रीलाई गुमाएको छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराइमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा बुधबार हेलिकप्टर दुर्घटनामा पर्दा मन्त्री अधिकरी सहित ७ जनाको निधन भएको हो । तत्कालीन अखिलकै नेतृ विद्या भट्टराईसँग विहे गरेका अधिकारीका १० र १८ वर्षका (विराज र विराट) दुई छोरा छन् । पत्नी भट्टराई त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यापन गर्छिन् ।

२०२६ वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रबिन्द्र अधिकारी सानै उमेर देखि राजनीतिक गतिविधिमा चासो राख्ने गर्दथे । विद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि विद्यार्थी राजनैतिक गतिविधिमा सक्रिय रहनुका साथै २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निर्वाचित भएका थिए ।

एमबीएससम्मको अध्ययन गरेका मन्त्री अधिकारी २०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए । आर्थिक समृद्धि र विकासको बहस गर्ने अधिकारीलाई नेकपाभित्र र बाहिर पनि आशा लाग्दो युवा नेताको रूपमा चिनिथ्यो । तीनपटक सांसद बनेपनि उनी पहिलो पटक मन्त्री बनेका थिए । २०७० सालमा संसद्को विकास समितिको सभापति रहेका अधिकारीले समृद्ध नेपाल नामक पुस्तक लेखेका छन् ।

राजनीति र विकास एक अर्काका अन्तरसम्बधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संविधानसभा र संसदमा रहँदा कास्की जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । पोखरालाई विश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोकेका अधिकारी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौं पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमाडौं पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पूर्वाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वा्चित भए पछि संसदमा खेलेको भूमिका सबै लाई अवगत भएकै कुरा हो ।

सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्योंसी, सार्वजनिक संस्थान,बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रीडएबल पासर्पोट आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरे । मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने गरि पूर्वाधार निर्माण लगायतका कामहरु पनि अघि बढाएका थिए । अधिकारीले मन्त्रीको जिम्मेवारी सम्हालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यापक सुधार गरेका थिए । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले पनि तीव्रता पाएको थियो । प्रविण गुरुङ हत्याकान्डमा पारस शाहलाई कारवाही हुनुपर्ने भन्दै आवाज उठाएका अधिकारीले विद्यार्थीलाई सार्वजनिक यातायातमा ३३ प्रतिशत छुट दिलाउन पहल गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट