भेनेजुएला संकट: विभिन्न देशबाट आएका सहायता सामग्री ट्रकमै जले

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार

भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसात्मक झडप भएका छन् ।

सीमा क्षेत्रमा भएका झडपमा घाइते हुनेहरुको संख्या ३०० नाघेको कोलम्बिया सरकारले बताएको छ । घटनास्थलमा रहेका पत्रकारहरुले धेरैजना गम्भीर घाइते भएको बताएका छन् । केहीको आँखाको ज्योति गएको छ । आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका र अमेरिका तथा युरोपका देश एवम् दक्षिण अमेरिकी देशहरु ब्राजिल, पेरु, कोलम्बियासहितको समर्थन पाएका जुआन गुआईदोले सहायता सामग्री भेनेजुएला जसरी पनि प्रवेश गराउने बताएका छन् ।

तर राष्ट्रपति मादुरोले भने सहायता सामग्री प्रवेश हुन नदिने रणनीति अनुसार ब्राजिलसँगको सीमा बन्द गर्नुका साथै कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् । गुआईदोले आफ्ना नागरिकलाई सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि अपिल गरेपछि अमेरिकासहितका देशले सहायता सामग्री सीमावर्ती क्षेत्रमा लगेका छन् ।

देशमा सहायता सामग्री नभित्रियोस् भन्ने चाहेका निकोलस मादुरोले देशका सीमा आंशिक रुपमा बन्द गरेका छन् । केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ ।

मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ । भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलस मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष समेत रहेका ३५ वर्षीय गुआईदोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट