महिला टी-२० स्मास क्रिकेट: नेपालद्वारा चीन १० विकेटले पराजित

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार

काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।

थाइल्याण्डको बैंककस्थित एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा भएको सो खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँगको पहिलो खेलमा शानदार जित हात पारेको हो ।

करुणा भण्डारीले बलिङमा तीन विकेट र सिता रानामगरले ब्याटिङमा नटआउट २४ रन रनको पारी खेलेसँगै नेपालले चीनले दिएको ४९ रनको सामान्य लक्ष्य ८.४ ओभरमा पूरा गरेको थियो। ओपनर सिता २५ बलमा ३ प्रहार गर्दै नटआउट रहिन् भने अर्की ओपनर काजल श्रेष्ठले १४ रन जोडिन्। २९ बल खेलेकी उनले १ चौका प्रहार गरिन्।

टस हारेर पहिले ब्याटिङ रोजेको चीनले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन मात्र बनाएको थियो । चीनका लागि ओपनर झाङ चानले मात्र १३ रन बनाइन् भने अन्य कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विनोद दास प्रशिक्षक रहेको महिला नेपाली टोलीमा कप्तान रुबिना क्षेत्रीसँगै सिताराना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, बिन्दु रावल, र ममताकुमारी चौधरी छन्।

प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् ।

नेपालले दोस्रो खेल आइतबार मलेसियासँग, तेस्रो खेल पुष ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग तथा अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग खेल्ने छ । प्रतियोगिता १८ तारिखसम्म चल्नेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट