नौ रथाभरि नौ नारी

लामो समयको त्याग र तपस्याले यहाँसम्म पुग्न सफल भए: भारोत्तोलन खेलाडी तारादेवी पुन(भिडियोसहित)

प्रकाशित मिति: २६ आश्विन २०७५, शुक्रबार

म्याग्दीकी तारादेवी पुन भारोत्तोलन खेलकी युवा खेलाडी हुन् । सानैदेखि भलिबलमा रुचि राख्ने उनले वि.सं २०५८ साल पुषदेखि औपचारिक रुपमा भारोत्तोलन खेल्न थालिन् । उनी चौथो राष्ट्रिय खेलकुदको लागि गाविस, जिल्ला स्तरीय र क्षेत्रिय स्तरबाट छनौट भइसकेपछि राष्ट्रियस्तरको भलिबल खेल्न सुरु गरिन् । नेपालमा भएको आठौँ सागका लागि छनौटमा परेकी उनले उक्त खबर आठौँ साग सकिएपछि मात्र पाइन् जसका कारण उनले खेलमा सहभागिता जनाउन सकिनन् । आफ्नी साथीको सल्लाहमा भारात्तोलन खेल सुरु गरेकी तारालाई खेलबार केहि थाखा थिएन् । सुरुमा भारोत्तोलन खेलबारे थाहा नपाएकी ताराले अहिले आएर देश विदेशमा नेपाललाई चिनाउनुका साथै थुप्रै पदकहरु जितेकी छन् । उनै भारोत्तोलनकी खेलाडी तारा पुनसँग रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेष मा गरिएको कुराकानी :

१. भलिबलमा रुचि भएर कसरी भारोत्तोलन तिर प्रवेश गर्नुभयो ?
सुरुमा म भारोत्तोलन नै खेल्छु र यसैमा करिअर बनाउँछु भनेर आएकै होइन् । भारोत्तोलन खेल्न आइसकेपछि पनि मलाई यो खेल कसरी खेलिन्छ भन्ने थाहा थिएन । भारोत्तोलन हलमा गएर ट्रेनिङ सुरु गरिसकेपछि बल्ल यसरी खेलिदो रहेछ भन्ने बुझेँ । सुरु सुरुमा त गुरुहरुले मलाई खेल्न सक्छ भनेरै पत्याउनु नै भएन । एकजना दिदीले मलाई भारोत्तोलन खेल्न पठाइसकेपछि मैले रंगशाला आएर खुब ट्रेनिङ गरे । म सानैदेखि एउटा खेलाडी भएकाले खेल्न सक्छु भन्ने आँट मनमा थियो । गुरुहरुले मेरो मिहिनेत देखिसकेपछि यसले केहि गर्न सक्छे भन्ने सोचेर नै मलाई अगाडी लैजानु भयो । यसरी मैले भारोत्तोलन खेन्न सुरु गरे । मैले भारोत्तोलनको ट्रेनिङ गरेको २ महिनामै प्रतिस्पर्धामा उत्रेको थिए । त्यतिबेला नेशनल लेबलको गेममा मैले ‘स्ट्रङगेस्ट वुमेन अफ द नेपाल’ भन्ने ट्रफीसहित गोल्ड मेडल जितेकी थिए । यस खेलमा थुप्रै मेडलहरु जित्दै गएपछि भारोत्तोलनमा मोह बढ्दै गएको हो ।

२. भारोत्तोलन त पुरुषहरुले खेल्ने खेल हैन र ? महिला भएर यस क्षेत्रमा लाग्ने आँट कसरी आयो ?
जब म २०५८ सालमा काठमाडौं आएर भारोत्तोलनको ट्रेनिङ सुरु गरे, त्यतिबेला म एउटा मात्र महिला थिए । नेपालमा यो खेलमा महिलाका लागि १५ केजीको रड र पुरुषका लागि २० केजीको रड राखिन्छ । त्यतिबेला महिलाहरुको रड नभएकै कारण मलाई सुरुमै पुरुषहरुको २० केजीको रड उठाउन दिइएको थियो । सुरुसुरुमा कोही पनि महिला साथी नदेख्दा सकिदैन कि जस्तो पनि लाग्थ्यो । यसो सोच्दाखेरी केटाहरुले त खेल्न सक्छन् भने मैले किन नसक्ने भनेर लाग्न थाल्यो र मैले खेल्छु नै भनेर आँटे र त्यसपछिको ५ महिना मैले एक्लै ट्रेनिङ गरे ।

३.पहिलो राष्ट्रिय स्तरको खेलमा सहभागी हुँदाको अनुभव कस्तो थियो ? राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलमा के फरक पाउनु भयो ?
सामूहिक गेममा विजयी भएर मेडल ल्याउनु र सिङ्गल गेममा मात्र विजयी हुनुमा धेरै फरक हुन्छ । भलिबल खेल्दा समूहमा खेल्नुपर्ने भएकाले त्यो जित मेरो मात्र हुदैनथ्यो, अहिले भारोत्तोलन खेलेर जित्दा यसको खुसी नै छुट्टै मिल्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेल खेल्नुमा धेरै फरक हुन्छ । राष्ट्रिय स्तरको खेल देशभित्र हुन्छ । आफ्नै नेपालीसँग खेल्नुपर्छ । प्राय सबैको खेल्ने टेक्नीक समान हुन्छ । कतिपय चिनेकै साथीहरु हुन्छन् । तर अन्तर्राष्ट्रिय खेलमा छुट्टै अनुभव हुन्छ । नयाँ ठाँउ, नयाँ परिवेश, नयाँ साथीहरु, नयाँ टेक्नीक थुप्रै कुरा सिक्न पाइन्छ नि । खेलको माहौल नै बेग्लै हुँदा छुट्टै आनन्द आउँछ । झन विदेशी भूमिमा गएर मेडल जित्न पाउँदा र नेपालको झण्डा फहराउन पाउँदा गर्व महशुस हुन्छ ।

४. अहिलेसम्म कुन-कुन पदकहरु पाउनु भएको छ ?
नेशनल लेबलको गेममा मैले ‘स्ट्रङगेस्ट वुमेन अफ नेपाल’ को ट्रफीसहित गोल्ड मेडल जितेकी थिए । त्यसपछि १२औँ सागमा कास्य पदक जिते । अरु साना तिना पुरस्कार, ट्रफी र प्रमाणपत्र पनि धेरै जितेकी छुँ ।

५. नेपालमा खेलाडी भएर बाँच्न कत्तिको कठिन छ ?
एकदम गार्हो छ नि । म त नेपाल पुलिस क्लबबाट खेलीरहेकी भएर उहाँहरुले मलाई हेर्नु भाको छ । तर विभागीय टिमभन्दा बाहिर बसेर खेल्न खेलाडीहरुलाई एकदम  गार्हो छ । यस गेममा ट्रेनिङ, ड्रेस र खानपिनमा एकदमै ध्यान दिनु पर्छ । हामीलाई त भित्र क्लवले दिन्छ तर बाहिरबाट खेल्ने खेलाडीहरुलाई बाहिरबाट आएर यो कुरा म्यानेज गर्न निकै गार्हो  हुन्छ । कि त सबै खर्च परिवारले ब्यहोर्नु पर्यो नभए म यसैलाई नै रोजिरोटी बनाउँछु भन्न सकिदैन । बाहिर जागीर गरेर खेल्छु भने पनि ट्रेनिङ र रेस्ट धेरै गर्नुपर्ने भएकाले जागीर गर्न समय नै मिलाउन सकिदैन ।

६. परिवारबाट कत्तिको सहयोग पाउनु भएको छ ? अरु केही काम पनि गर्नुहुन्छ कि ?
मेरो परिवारबाट मलाई एकदम सहयोग छ । मेरो दाजुभाई दिदीबहिनीले मलाई एकदम सपोर्ट गर्नु हुन्छ । उहाँहरु हामीले केहि गर्न सकेनौ तँ यो ठाँउसम्म पुगेको छस राम्रो गर्दै जानु भन्नु हुन्छ । उहाँहरुकै सपोर्टले म यहाँसम्म पुगेकी हुँ । भलिबल खेल्न त मेरो आमाले पनि मलाई भेरै सपोर्ट नै गर्नु हुन्थ्यो तर भारोत्तोलनमा चाँहि उहाँको सपोर्ट छैन । यस्तो भन्नु भन्दा पनि चोटपटक लाग्छ भनेर बढि डराउनु हुन्छ । यो गेम खेलेर छोरी कमजोर हुन्छे भन्ने सोच्नु हुन्छ उहाँ । म अहिले भारोत्तोलन खेल्नमै व्यस्त छु । अरु केहि पनि गर्दिन । यो खेल लाई धेरै समय दिनुपर्छ । ५/७ दिन बीचमा छुट्यो भने जिरो लेबलबाट सुरु गर्नुपर्ने हुन्छ । त्यसैले अन्त टाइम दिनै सकिदैन । खेलको कारणले मैले राम्रोसँग मेरो परिवारलाई टाइम दिन सकेको छैन । सबै जना उतै गाउँमै हुनुहुन्छ ।

७. अन्तर्राष्ट्रिय खेलाडी बन्न पाउँदा कत्तिको गर्व लाग्छ ?
पहिले पहिले त खेल्न मै व्यस्त भइन्थ्यो । मेडल जित्दा मात्र एकछिन खुसी लाग्थ्यो । जब खेल्दै गए अनुभव बटुल्दै गए । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने मौका पाए अनि जब नयाँ पिँढीले मलाई तारा दिदी जस्तै खेलाडी बन्नु छ भनेर मिहिनेत गरेको देखे अहिले एकदमै खुशी लाग्छ, जिम्मेवारी बोध हुन्छ । म पनि कसैको लागि अभिप्रेरणाको स्रोत बन्न पाउँदा खुसी लागेको छ । धेरै दुःख गरेर यहाँसम्म आइपुगे । १५/१६ वर्षको संघर्षपछि मात्र आज म यहाँसम्म पुग्न सफल भए ।

८. यो क्षेत्रमा महिलाहरुको सहभागिता कस्तो छ ?
मैले भारोत्तोलन सुरु गर्दा महिलाहरुको सहभागिता शून्य नै थियो । अहिले नयाँ महिला खेलाडीहरु आउनु भएको छ । राम्रो सहभागिता देख्न पाइन्छ । राम्रा खेलाडीहरु आउने क्रम जारी छ । अबको एक दुई वर्षभित्र एकदम राम्रा खेलाडी आउनु हुन्छ ।

९. सबैतिर दशैँको रमाईलो छ तपाईलाई दशैँ लागेको छैन ?
दशैँ पहिले बाल्यकाल जस्तो नयाँ लुगा, पिङ, मिठो खानेकुरा, दक्षिणाको खुसी भन्दा पनि वर्ष दिनमा एकपल्ट परिवारलाई विशेष गरी आमालाई भेट्न पाइने भएकाले खुसी लाग्छ । म हरेक वर्ष भेट्न भनेर त घर जान पाउँदिन तर कहिले काहिको दशैँमा भेट हुने भएकाले एकदम उत्साहित हुन्छु । सबै देश विदेशमा रहनुहुने साथीभाई परिवार, आफन्तलाई विजया दशमीको शुभकामना भन्न चाहन्छु । रमाईलो गरेर आफ्नो क्षमताअनुसार दशैँ मनाउनुहोला, सबैमा शुभकामना छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट