नौ रथाभरि नौ नारी

मेरो बाँकी जीवन अनाथ बालबालिकाप्रति समर्पण: आमा सावित्री लिम्बु राई(भिडियोसहित)

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार

धनकुटाकी सावित्री लिम्बु राई विगत ३८ वर्षदेखि काठमाडौंमा बस्दै आएकी छन् । ललितपुरको कुसुन्ती पञ्चेश्वर महादेव मन्दिर नजिकै उनले विगत २३ वर्षदेखि ‘सावित्री एकता जनसेवा समूह’ नामक बालआश्रम चलाउदै आएकी छन् । श्रीमानको मृत्युपछि एक्ली परेकी उनले एक्लोपन हटाउन आफ्ना तीन जना कलिला बच्चासँगै बालआश्रम सञ्चालन गर्ने मनसाय बनाइन् । एउटा बच्चाबाट बालआश्रम सुरु गरेकी सावित्रीले अहिले ६ छोरा र १२ छोरी गरी १८ जना बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएकी छन् । सुरुमा उनकी साथीले २ महिनाको बच्चा ल्याइदिँदा एकछिन अलमल्ल परेको अनुभव सुनाइन् । सुरुमा अप्ठ्यारो भए पनि अहिले यो कामबाट आफूलाई आनन्द मिल्ने बताउने उनै सावित्रीसँग रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेष मा गरिएको कुराकानी :

१. दुई महिनाको बच्चालाई लिएर बालगृह सुरु गर्दा कत्तिको अप्ठ्यारो भयो ?
सुरुमा काम गर्दा त सबैले यो बुढी बहुलाई सम्म भनेका थिए । घर छैन पैसा छैन कता राख्ने के खुवाउने पीर थियो । आफ्नो बच्चा ठूलो भइसकेपछि २ महिनाको बच्चा हुर्काउँदा एकदम अप्ठ्यारो भएको थियो मलाई । एक दुई महिनाको बच्चा जसलाई आमाले भर्खर छोडेर गएको त्यस्तोे बच्चालाई हेर्न एकदम गार्हो हुन्छ नि । सुुरुको अप्ठ्यारो सम्झिदा कसरी गरेको होला भन्ने लाग्छ तर अहिले त्यो अवस्था पार गरिसकेपछि आफ्नो काम देखेर खुसी लाग्छ।
२.बाल आश्रम कसरी चलाउनु भएको छ, सहयोग कहाँबाट पाउनु हुन्छ ?
खर्च जुटाउन एकदम कठिन हुन्छ तर मलाई बालआश्रम चलाउन मेरा इष्टमित्र, साथीभाई र आफन्तबाट सहयोग मिलेको छ । सहयोगी भावना भएका साथीभाईहरु हुनुहुन्छ । मलाई समस्या परेको छ भन्दा उनीहरुले सहयोग गर्छन ।

३. यो काममा छोराछोरीहरुले साथ दिनु भएकोे छ त ? दाताहरुको सहयोग कत्तिको पाउनु भएको छ ?
मेरो श्रीमान् बितिसकेपछि हामीले धेरै दु:ख भोगेका थियौ । दु:ख पर्दा कस्तो हुन्छ उनीहरुले बुझेको छन् । त्यसैले यो काममा उनीहरुले सधैँ सहयोग गर्छन् ।
बाल आश्रम चलाउन मैले घरघरमा गएर सहयोग माग्दै हिड्थे । यही क्रममा हाम्रो दुःख सुनेर एकजना डेनमार्कको विदेशी दाताले हाम्रो संस्थालाई सहयोग गरिदिनु भयो र हामीलाई सहज भयो । अहिले बाल आश्रम भएको जग्गा र भवन संस्था कै हो । त्यसपछि मैले अलिकति ऋण लिएर साथीभाईहरुको सहयोगमा यो भवन बनाए । बच्चाहरुको खर्च जुटाउन एकदम गारो छ । केहि बच्चाहरु पढ्दै छन् भने केहि बच्चाहरु जागीर गर्देछन् । तर अहिले सम्म भोकै बस्नु परेको छैन ।

४. दशैँ आइसक्यो १८ जना बालबालिका हुनुहुन्छ, दशैँ कसरी मनाउने गर्नु भएको छ ?
म हिन्दु धर्मको मान्छे अरु मानिसले मनाए जसरी नै मनाउँछु । दशैँ त आइसक्यो तर पैसा कतैबाट आएको छैन् । सबै जना शुभचिन्तकहरुलाई भनेको छुँ । दशैँसम्म आउछ होला । कसैले सहयोग नगरे छोराछोरी भोकै राख्न भएन म दशैँ खर्च जुटाउन घरघर भए पनि जान्छु । पहिला बाल आश्रम खोलेर बसी भन्ने साथीभाई पनि अहिले मलाई सर्पाेट गर्छन्, खुसीले सहयोग गर्छन ।

५. पहिले बाल्यकालको दशैँ र यो दशैँमा के फरक पाउनु भएको छ ?
सानो हुँदा हामी गाउँमा थियौँ । उतिबेला रमाईलो हुन्थ्यो । दशैँमा सधै नयाँ लुगा मिठो खाना हुन्थ्यो । अहिले त आफ्नो काधमा जिम्मेवारी आएको छ । सबै काम आफैले गर्नुपर्छ, खर्च जुटाउनु पर्छ । तर बच्चाहरुको लागि केहि गरिदिन पाउँदा, अनि बच्चाहरुले राम्रो पढेको देख्दा सन्तुष्टी लाग्छ। आफ्नो पीर बिर्सन्छु । मेरा यी बच्चाहरुले ठूलो भएर आफ्नो काम गरे पनि अझै अरु बच्चाहरु हेरेर बस्ने चाहना छ । मेरो स्वास्थ्यले साथ दिएसम्म म अझै गरिब बच्चाहरुलाई पढाउन चाहन्छु ।

६. बच्चाहरु ठूलो भइसकेका रहेछन् उनीहरुलाई यहि राख्नुहुन्छ कि बाहिर पठाउनु हुन्छ, के छ प्रावधान ?
बालगृहमा ठूलो भएपछि त राख्न मिल्दैन । तर मैले सानैदेखि हेरेको बच्चा कहाँ पठाउने भनेर सोच्दै छुँ । त्यतिकै पठाउन मिलेन, उनीहरुको जागीरको ग्यारेन्टी त लिनुपर्छ । विदेश जान चाहनेलाई विदेश पठाउँछौ भने नेपालमै बसेर केहि गर्छु भन्नेलाई यतै जागीर खोज्छौ । अहिले मेरो बच्चाहरु बिस्तारै ठूलो हुँदैछन् । सबै १८ जना नै मसँगै बस्छन् ।

७. साथीभाईहरुसँग सहयोग माग्न जादाँ के भन्थे उनीहरु, कस्तो समस्या झेल्नु भयो ?
मेरो साथीहरुलाई झ्याउ लाग्थ्यो कहिले काही रिसाउनु हुन्थ्यो । मैले जसले जे भनेनी चुपचाप सहेर बस्थे । उनीहरुको पनि समस्या हुन्थ्यो त्यतिबेला गार्हो हुन्थ्यो । यति गर्दा पनि मलाई समस्या भयो भनेर बच्चाहरुलाई छोड्ने विचार मेरो दिमागमा कहिल्यै आएन । एक जनाले गाली गरे पनि अर्को माया गर्ने भेटिन्थ्यो जस्तो समस्या परे पनि हामी भोकै बस्नु परेन कहिले । पैसाको धेरै समस्या भनेको स्कुलको फि तिर्न हुन्थ्यो । कहिले काही स्कुलबाट मेरो बच्चाहरुलाई फि नतिरेको भन्दै घर फर्काइन्थ्यो । त्यतिबेला नरमाइलो लाग्थ्यो अनी बच्चाहरुलाई सम्झाउथे । म अलि आटिलो मान्छे भएकाले हार मानिन् कहिले ।

८ . अहिले बालआश्रमका समस्या के-के छ ?
अहिले बालआश्रमको समस्या भन्दा पनि मेरो समस्या छ । मेरो अहिले ३० लाख जति ऋण छ । अहिलेको यहि समस्या हो । यो घर बनाउन लिएको १५ लाख ऋण हो ब्याज तिर्न नसकेपछि बढ्दै गयो । कहिले बैंकको मान्छेहरु आएर कराउँछन् । तर म चिन्ता लिदैन छोराछोरीहरु ठूलो भएर कमाएर तिर्लान नभए कोही न कोही ऋण तिर्ने मान्छे आउँछ जस्तो लाग्छ ।

९. तपाईका छोराछोरीले आमा बुढो हुनुभयो अब दुःख नगर्नु यतै विदेश आएरै बस्नु भन्दैनन् ?
भन्दैनन्, मलाई काम गर्न एकदम राम्रो लाग्छ । मेरो काम देखेर उनीहरु पनि खुसी छन् । यो काम गरेर मलाई एकदम आत्मसन्तुष्टी मिलेको छ । मैले जुन दुःख गर्न सके यो सम्झेर पनि आनन्द लाग्छ । पैसा कमाउने, सुनचाँदी लाउने इच्छा त जसको पनि हुन्छ । तर एकपटक पाएको जीवनमा साना नानीहरुको स्याहार गर्न पाउँदा पूर्व जन्ममा राम्रो काम गरेको फल हो जस्तो लाग्छ । म धेरै पढेलेखेको नभए पनि यो कामबाट मैले धेरै अनुभव पाएकी छुँ । म सँगैको साथीहरु पैसा कमाउन तिर लागे, कोही देश विदेश गए, कोही जुवातास खेलेर जाँडरक्सी खान थाले । तर मैले सबैभन्दा राम्रो काम गरेको जस्तो लाग्छ । जति दुःख भए पनि कुनै पछुतो छैन । मेरो छोरी अमेरिकामा बस्छिन् म छोरीसँग अमेरिका गए, तर मलाई त्यहाँ बस्न मन परेन र म आफ्नै देश फर्किए ।

१०. तपाई कति वर्षको हुनुभयो ? आगामी दिनका लागि के कस्ता योजनाहरु के के छन् बनाउनु भएको छ ?
म अहिले ६५ वर्षकी भए । बल्ल त मैले जीवन थाहा पाए । मैले बल्ल एसएलसी पास गरेको जस्तो लाग्छ । अब चाँहि मलाई रमाईलो लागिरहेको छ । बाल बालिकालाई हेर्न पाए हुन्थ्यो, पढाउन पाए हुन्थ्यो जस्तो लाग्छ । म जहिलेसम्म होसमा हुन्छु तबसम्म यहि काम गरिरहन्छु । मलाई बच्चा मनप्यो भन्नेहरु पनि आउथे तर मैले कसैलाई दिएन । आफूले दुःख गरी हुर्काएर ठूलो भएको बच्चा त कसरी दिन सकिन्छ र ?

११. पछाडी फर्केर हेर्दा जीवन के हो जस्तो लाग्छ ? जीवनप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
जीवनप्रति म एकदम सन्तुष्ट छुँ । मैले आफ्नो जीवनमा पछाडी फर्केर हेर्दा इतिहास बनाए जस्तो लाग्छ । मानिसको जीवन एकपल्ट मात्र पाइन्छ । हजार जूनीमा त म विश्वास राख्दीन । मलाई जीवनमा कुनै पश्चताप छैन । मलाई यहाँ सम्म पु्याउन मद्दत गर्ने दाताहरुलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । उनीहरुको सहयोग बिना म यहाँसम्म पुग्न सक्दैन थिए । मानिसको जीवन एकदिन मरेर जाने हो त्यसैले यो अमूल्य जीवनमा राम्रो काम गर्नुपर्छ । जीवनमा आँट, झुकाव र जाँगर तिन कुराले अगाडी बढ्न सकिन्छ । राम्रो काम गरे यहि स्वर्ग देख्न पाइन्छ ।

अन्त्यमा…
सबै मेरा साथीभाई, इष्टमित्र, सहयोगी दाताहरुलाई बडा दशैँको शुभकामना भन्न चाहन्छु ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट