दशैँ विशेष : नौरथाभरि नौ नारी

महिलाहरु काममा खट्न सक्दैनन् भन्ने सोच हटाउनु जरुरी: विष्णु पन्थी(भिडियोसिहत)

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

नेपाल टेलिभिजनमा पहिलो महिला क्यामेरा पर्सनका रुपमा कार्यरत विष्णु पन्थी अर्घाखाँची जिल्लामा जन्मिएर हाल काठमाडौंको नैकापमा बस्दै आएकी छन् । लामो समयदेखि मिडिया क्षेत्रमा कार्यरत पन्थीसँग आज हामीले एउटा महिलालाई मिडिया अर्थात क्यामेरा पर्सन भएर काम गर्दा कस्ता समस्या र चुनौती आइपर्दछन् भन्ने विषयमा रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेषमा गरिएको कुराकानी :

१. नेपालीहरुको महान पर्व दशैँलाई कस्तो रुपमा हेर्नु हुन्छ ?
हाम्रो घर आँगनमा आजदेखि दशैँ छाइसकेको छ । नवरात्रीको आज पहिलो दिन घटस्थापना । हामीले हाम्रो घरमा घटस्थापना गरेर नवदुर्गाको आराधना गरिसकेका छौँ । नेपालीहरुको महानपर्व दशैँलाई नेपालीहरुकै मात्र नभएर हिन्दुहरुको महान पर्वका रुपमा लिइन्छ । दशैँ नेपालमा मात्र नभएर भारतमा पनि धुमधामका साथ दशहराका रुपमा मनाइन्छ । दशैँ पहिलेभन्दा अहिले केहि फरक ढङ्गले मनाइन्छ । जुन उमंग बाल्यकालको दशैँमा पाइन्थ्यो त्यो उमंग कामको व्यस्तताले केहि मात्रामा कम भएको छ। बाल्यकालमा दशैँ भन्ने बितिक्कै नयाँ कपडा, मिठो खानपिन, पिङ खेल्ने,आफन्त साथीभाइ भेट्ने जस्ता रमाइला कुरा हुने गर्दथे भने अहिले कामकाजको व्यस्तताले दशैँ सेलिब्रेसन गर्ने तरिका नै फरक भएको छ । जब म पढाई र कामको शिलशिलामा काठमाडौं आए तब दशैँको बिदा भएर घर जाने बेला आउथ्यो त्यसमा छुट्टै मज्जा आउँथ्यो । अहिले कामको व्यस्तताले यतैै भइन्छ । जिम्मेवारी बढेको छ, दशैँको बेला पनि काम गर्नुपर्ने भएकाले बाल्यकालको जस्तो उमंग अहिले विस्तारै हराउँदै गयो ।

२. बाल्यकालमा दशैँ मनाउदै गर्दाको कुनै अविस्मरणीय पल सम्झन चाहनुहुन्छ ?
म प्लस टु पढ्न काठमाडौं आइसकेपछि जब म १२ मा पढ्थे मैले १६ सय रुपैयाँ तलबमा जागिर गरे । १६ सय तलब पाइसकेपछि मैले १३ सयमा एउटा राइसकुकर किनेर ३ सय रुपैयाँ बाँकी रह्यो । त्यसबेला मैले दाइलाई ३ सय मागेर ६ सयको आमालाई धोती किनेर लगेकी थिए । मैले आफै कमाएर तपाइलाई दशैँका लागि धोती ल्याइदिए भन्दा आमा दङ्ग पर्नु हुन्थ्यो । दशैँ आउँदा हरेक वर्ष यो कुराको सम्झना आउँछ मलाई । यस बाहेक दशैँमा आफन्त भेट्ने, पिङ खेल्ने, नया लुगा लगाउने र विशेष गरी दशैँमा टिका लगाएर कसले कति दक्षिणा दियो भन्ने कुरा विशेष चासो हुन्थ्योे त्यति बेला ।

३. तपाई नेपाल टेलिभिजनको पहिलो क्यामेरा पर्सनका रुपमा परिचित हुनुहुन्छ, यहाँसम्म आइपुग्न कति संर्घष गर्नु भयो ?
सुरुमा मलाई यो क्षेत्रका बारेमा थाहा नै थिएन । गाउँघरमा पढेर हुर्किए, क्यामेराको बारेमा केहि जानेकै थिइन । मेरो रुचि नर्सिङमा थियो । पढेर नर्स बन्छु भन्ने सोचेको थिए तर नर्सिङमा नाम ननिस्किएपछि के गर्ने भन्ने नै फिक्स थिएन । त्यस लगत्तै मलाई दाईले जर्नालिजमका लागि आरआर कलेजमा भर्ना गराइदिनु भयो । अनि मैले पढ्दै केहि गरम न भन्ने सोचेर पत्रपत्रिकामा इन्टर्न गर्न थाले । इन्टर्नकै क्रममा एकदिन बागबजारमा आन्दोलन भइरहेको बेला एक जना महिलाले क्यामेरा बोकेर फोटोहरु खिचिरहेको देखे । पछि थाहा पाए ति महिला कान्तिपुरकी पुनम दिदी थिइन् । त्यो घटनाले मलाई क्यामेरा पर्सन बन्न प्रेरीत गर्यो । त्यसपछि मैले साथीहरुको ग्रुप बनाएर ६ महिना क्यामेरा सिकेपछि यसलाई नै निरन्तरता दिए ।

४. समाजमा एउटा क्यामेरा पर्सनलाई हेर्ने दृष्टिकोण कस्तो छ, तपाईले यस क्षेत्रमा काम गर्दा कस्तो समस्या भोग्नु भयो ?
हो हाम्रो समाजमा अझै पनि महिलाले पुरुष सरह काम गर्न सक्दैनन् भन्ने मान्यता विद्यमान छ । यो मिडियाका क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रको समस्या हो। हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक सोच हाबी भएको पाइन्छ । महिलाहरुले पनि पुरुष सरह विभिन्न कामहरु गरिसकेका छन्, गर्दै पनि आइरहेका छन् । महिलाहरुलाई मौका दिए जे पनि गर्न सक्छन् । महिलाहरु पुरुष सरह काम गर्न सक्दैनन्, खट्न सक्दैनन् भन्ने सोच हट्नु जरुरी छ । पत्रकारिता आफैमा चुनौतीपूर्ण क्षेत्र हो । हामीले यसलाई जागिरका रुपमा होइन् कर्तव्यका रुपमा काम गर्नुपर्ने हुन्छ । हामीले काम गर्ने क्रममै पुरुष साथीहरुबाटै नराम्रोे व्यवहार हुन्थ्यो । पछाडी तान्न खोज्ने जस्तो व्यवहार हुन्थ्यो । तर धेरै साथीहरु सर्पोटिभ नै थिए ।

५. यसभन्दा बाहेक के मा व्यस्त हुनु हुन्छ ?
म अहिले यहि क्षेत्रमा काम गरिरहेकी छु । मेरो अफ्नै रिसाइकलबिन च्यानल पनि छ । विशेष गरी म सिकाइकै प्रोसेसमा छु । म मिडिया स्टडीजमा एमफिल गरिरहेकी छु । मिडियामा महिलाहरुका चुनौतीकै विषयलाई लिएर मैले अध्ययन गरिरहेकी छु । परिवारको सपोट बिना महिलाहरु मिडिया क्षेत्रमा टिक्नै सक्दैनन् । म सँग जुन साथीहरु क्यामेरा पर्सनका रुपमा मिडियामा आए उनीहरु मध्ये ५० प्रतिशत साथीहरुले यो पेशा छोडी सक्नु भएको छ । यो परिवारको सपोट नभएरै हो जस्तो मलाई लाग्छ । महिलाहरुको विवाह भएपछि उनीहरुको जिम्मेवारी थपिन्छ, त्यसमा पनि परिवारको सपोट नभए कामै गर्न सकिदैन । मेरो कुरा गर्नु पर्दा परिवारको सपोटले नै आज म यहाँसम्म पुगेकी हुँ । मैले जे काम गर्छु भन्दा पनि मेरो परिवारले नाइ भनेन् । उनीहरुको मलाई हरेक काममा सपोट थियो । विवाह पछि पनि मेरो श्रीमानले मलाई एकदमै सर्पोट गर्नुभयो, इन्करेज गर्नुहुन्छ ।

६. काम र पढाईका साथसाथै परिवारलाई कसरी म्यानेज गर्नु भएको छ ?
अहिले मलाई सबै भन्दा खट्केको पाटो यहि हो । मेरो एउटो छोरा पनि छ । मैले उनीहरुलाई चाहेजति समय दिन सकिरहेको छैन । मेरो छोराले बिदामा कसैले मलाई घुमाउन लग्दैन भन्दा म झस्किएकी थिए । अहिले बिहान बेलुका मात्र मलाई फुर्सद हुने भएकाले त्यही अनुसार समय मिलाइरहेकी छु ।

७. यस क्षेत्रमा नयाँ आउन चाहने महिलाहरुलाई के भन्न चाहनुहुन्छ ?
मैले अघि नै भनिसके यस क्षेत्रमा चुनौती थुप्रै छन् । तर म हरेक चुनौतीलाई सामना गर्न सक्छु भनेर विश्वास लिएर आउनु पर्छ । मिहिनेतको फल अवश्य मिठो हुन्छ । यस क्षेत्रमा आउन चाहने महिला होस या पुरुष सबैले यसलाई जागीर भन्दा पनि कर्तव्य र जिम्मेवारी सम्झेर गर्नुपर्ने हुन्छ । मिहिनेत हरेक क्षेत्रमा गर्नुपर्छ, चुनौतीका साथ काम गर्नुमा छुट्टै रमाइलो अनुभव हुन्छ ।

अन्त्यमा…
सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । रमाईलो गरी दशैँ मनाउनुहोला ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट