दशैँमा टिकासँगै किन लगाइन्छ जमरा ?

प्रकाशित मिति: २४ आश्विन २०७५, बुधबार

नेपालीहरुको महान चाँड बडा दशैँ आजदेखि सुरु भएको छ । आज दशैँको पहिलो दिन घटस्थापना, सबै नेपालीले आ आफ्नो घरमा जमरा राखेर घटस्थापना मनाउँदै छन् । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । असत्यमाथि सत्यको विजयको रूपमा लिईने भएकाले यस पर्वलाई विजया दशमी भनिएको हो ।

घटस्थापनाको दिन राखिने जमरा विजयादशमीको दिनमा मान्यजनले टिकासँगै लगाइदिने चलन रहेको छ । दशैँका दिन ठूलाबडाको हातबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरालाई जमरा भनिन्छ । घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा छ । हामी सबैले दशैँका टीका सँगै जमरा लगाउने गर्दछौ तर धेरैलाई जमराको महत्वबारे थाहा छैन ।

सामान्य भाषामा भन्नुपर्दा बडादशैँको पहिलो दिन दशैँघर अथवा आ-आफ्नो घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा जौ सँगै धान, गहुँ मकैजस्ता अन्न पनि मिसाएर छरिन्छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको धार्मिक विश्वास छ । जमरा उमार्न प्रयोग गरिने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूपमा लिइन्छ भने वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ ।

घटस्थापनादेखि नवमीसम्म प्रत्येक दिन शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी ९ वटा दुर्गा माताको पूजा गर्दै नवरात्रको महासप्तमी, महाअष्टमी र महानवमीका दिन सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजा आराधाना गरिन्छ ।

मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । यसरी नौ दिनसम्म पूजाअर्चना गरेको जमरा रातो अविरमा बाक्लो अक्षता राखेर निधार भरी टीका लगाएर विजया दशमी मनाइन्छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौ हुँ भनेर भनेकाले पनि यसको धार्मिक महत्व धेरै छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङ्कुरबाट गर्न सकिने उपचारको विधि उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरुलाई निकै फाइदा पुग्दछ ।

जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउछ भने पेट, आन्द्रा, हाडजोर्नी एवम् अन्य रोगहरुलाई समेत फाइदा पुग्छ । अमेरिकाका भूविज्ञ डा.आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मक रुपमा धेरै नै बढी छ ।

पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट