दुईवटा महासंघको खिचातानीले सुनचाँदी व्यवसाय धरासयमा पर्न गइराखेको छ: गणेश प्रसाद लकान्द्री (भिडियोसहित)

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

गणेश प्रसाद लकान्द्री लामो समयदेखि सुनचाँदीको क्षेत्रमा काम गर्दै आएका व्यवसायी एवम् नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष हुन् । आफ्नो नीजि व्यवसायका साथै यस मञ्चलाई पनि लकान्द्रीले निकै मिहिनेत र परिश्रमका साथ अगाडि बढाइराखेका छन् । गठन भएको छोटो समयमा नै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले विभिन्न जिल्लाहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ । नेपाली बजारमा कच्चा पदार्थ सुनचाँदीको अभाव भइराखेका बेला लकान्द्र्रीले आफ्ना सदस्यहरुलाई थोरै भए पनि माग पूरा गराइराखेका छन् । यसै सन्दर्भमा आज हामीले उनै गणेश प्रसाद लकान्द्रीसँग सुनचाँदी व्यवसाय सम्बन्धमा विशेष कुराकानी गरेका छौ :

१. के काममा व्यस्त हुनुहुन्छ ?
हाल म सुनचाँदी व्यवसायकै क्षेत्रमा, सुनचाँदी व्यवसायलाई पारदर्शी, एक्यबद्ध बनाउन र संस्थालाई कसरी माथि लैजाने भन्ने विषयमा केन्द्रीत छु ।

२. यो व्यवसायलाई सर्वसाधारणहरुले कसरी हेर्ने गरेका छन् ? हाल संस्था कति जिल्लामा स्थापित छ ?
यो क्षेत्र भनेको क्यासमा परिणत हुने क्षेत्र हो, यसले अहिले धेरै राम्रो बजार ओगटेकाले देशको अर्थतन्त्रलाई माथि उठाउन निकै ठूलो भूमिका खेलेको छ । सुनचाँदी व्यवसाय नेपालका ७७ वटै जिल्लामा गरिँदै आएको छ । यसमा पनि नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रदेश स्तरीय शाखाहरु बन्ने क्रम जारी छ । जसअन्तर्गत धरान जिल्ला शाखा, ललितपुर जिल्ला शाखा गठन भइसकेका छन् भने चितवनमा शाखा बन्ने तयारी भइरहेको छ ।

३. सुनचाँदी व्यवसायमा हाल सिन्डीकेट हाबी भएको देखिन्छ नि ?
सुनचाँदीको क्षेत्रमा अहिले धेरै ठूलो सिन्डीकेट छ । सबैतिरको सिन्डीकेट हटाउनु नै सरकारको मूल लक्ष्य थियो तर पनि ठूलो व्यवसायीको पहुँचले सुन व्यवसायको सिन्डीकेट हट्न सकेको छैन् । चाँडो भन्दा चाँडो सिन्डीकेट हटाउन हामी लागि परेका छौँ । यसैका लागि हामी सरकार समक्ष ज्ञापनपत्र बुझाउने तयारीमा छौँ ।

४. यो व्यवसाय गर्नेहरु च्याँउ उम्रे जस्तै बजारमा उम्रिएका छन् ?व्यवसायीहरुले पर्याप्त मात्रामा कच्चा पदार्थ सुनचाँदी पाइराखेका छन् त ?
नेपालका युवालाई स्वदेशमै रोजगार दिने नेपाल सरकारको एजेन्डा हो । विदेशमा गएर बेचिनु भन्दा स्वदेशमै केहि काम गरौँ भनेर नै मानिसहरु यो पेशाप्रति आकर्षित भएर व्यवसाय गरी बस्नु भा छन् । पहिला सुनको लागि कच्चा पदार्थ पाउन सहज थिएन् । हालै मात्र सरकारले केहि प्रावधानहरु मिलाएर ५ किलो सुन थप गरेको छ । तर बजारमा ५० किलो दैनिकले पनि बजार धान्न नसकेको अवस्थामा अहिले २५ किलोले पनि लगभग बजार धानीरहेकै छ ।

५. सुनचाँदी व्यवसायमा कालीगढको अभाव छ भन्छन नी ?
नेपाली मौलिक गहना बनाउने कालीगढहरु विदेश पलायन भएको र विदेशी कालीगढ पर्याप्त मात्रामा हाबी भएका कारण सुनचाँदी व्यवसायमा कालीगढको अभाव भएको हो ।

६. नेपाली गरगहनाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् त ?
हाम्रो संघसंस्थाहरु दिनदिनै प्रतिस्पर्धात्मक तरिकाले अगाडी बढिरहेका छन् । विभिन्न कार्यक्रमहरु अन्तर्राष्ट्रिय जगतमा देखाउनु पर्छ र नेपाली गहनाको पनि होल मार्क प्रणाली लागू हुनुपर्छ । त्यसपछि अन्तर्राष्ट्रिय जगतले पनि नेपाली गहनालाई प्रोत्साहन दिएर अन्तर्राष्ट्रिय जगतमा पनि जान सक्ने सम्भावना धेरै मात्रामा छ र हिजोका दिनहरुमा पनि गइरहेको छ ।

७. राज्यबाट बेलाबेलामा अनुगमनको नाममा धरपकड भइरहेको हुन्छ, यसलाई कस्तो रुपमा लिनुहुन्छ ?
यो एकदम दुःखदायी कुरा हो । सुनचाँदी क्षेत्रको बजार सुधारिएर गएको अवस्था छ, यो क्षेत्र एकदमै फराकिलो बजार हो र निर्देशिका नबनेकाले राज्यबाट अनुगमन गर्नु उचित होला जस्तो लाग्दैन ।

८. बजारमा कस्ता कस्ता खालको गरगहनाको माग बढी छ ?
मौलिक गहनाहरुको एकदमै माग छ अहिले । हङकङ, बेलायतलगायत देशमा बस्ने आमाबुबा तथा दाजुभाई दिदीबहिनिहरुले मौलिक गहनाहरु मन पराउनु भएकाले पनि मौलिक गरगहनाहरुको धेरै माग छ ।

९. सुनचाँदी व्यवसायमा रहेको असमान ज्याला जर्तीलाई एकरुपमा ल्याउन के गर्न सकिन्छ ?
सु्ुरुमै देशैभर एकैचोटी नै एकरुपता ल्याउन सकिदैन । यो निर्देशिकामा पनि समेटिएर ज्याला जर्ती एकरुपता हुनुपर्छ भनेर आउँदैछ र निर्देशिका निस्किएपछि मात्र सबै कुरा हल हुन्छ ।

१०. के कारणले सरकारले सुनचाँदी व्यवसायलाई अनुत्पादक क्षेत्र भनेको हो? सम्बन्धित निकायले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
सुनचाँदीको क्षेत्र अनुत्पादित क्षेत्र होइन । नेपालमै यति धेरै खनिजहरु छन् जुन सरकारले नदेखेको मात्र हो । यहाँ हिरा छैन कि, मोती, पुष्पराज पन्नालगायतका विभिन्न पथ्थरहरुको खनिजहरु छैन कि ? हामीसँग सबै स्रोतहरु छ तर सरकारले यी स्रोतहरु देखेको छैन । त्यसैले मलाई लाग्छ सुनचाँदीको क्षेत्र अनुत्पादित क्षेत्र होइन् यो शब्दलाईस चाँहि हटाउनुपर्छ । राज्यलाई माथि उठाउन सुनचाँदीको क्षेत्रले यत्रो कर तिरिराखेको छ, बजार समेटेको छ, अझै पनि आएर यो क्षेत्रलाई अनुत्पादित क्षेत्र भनिनु दुःखदायी कुरा हो । सरकारले यो क्षेत्रलाई पारदर्शी रुपमा हेरेर सम्मान गरिनुपर्छ जस्तो लाग्छ ।

११. यति धेरै संघ संस्था हुँदा पनि राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च गठन गर्नुको कारण के होला ?
दिनानुदिन सुनचाँदी व्यवसाय धरापमा पर्दै गएको थियो । आजभन्दा तीन वर्ष अगाडिको अवस्था हेर्ने हो भने व्यवसायीले व्यवसाय गरेर बाँच्ने अवस्था थिएन, प्रहरी प्रशासन, राज्यबाट बेला बेलामा हुने धरपकडका कारण उनीहरु पलायन भएर जाने अवस्था सिर्जना भइसकेको थियो । हो त्यस्ता हरेक गतिविधिलाई अन्त्य गर्नका लागि पनि राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको गठन गरिएको हो ।

१२. रत्न आभूषण महासंघ र सुनचाँदी व्यवसायी महासंघ गरेर दुईवटा महासंघ छन्, त्यो चाँहि किन होला ?
साँच्चै नै भन्नुपर्दा दुईवटा महासंघले गर्दा नै अहिले सुनचाँदीको क्षेत्र धरासयमा पर्न गइराखेको छ, फराकिलो रुपमा अगाडि बढ्न सकेको छैन । राजनैतिक दल एक भएर अगाडि बढीराखेको अवस्थामा सुनचाँदी क्षेत्रको महासंघ दुईवटा हुनु व्यवसायीहरुका लागि दुःखको कुरा हो । अहिले महासंघले पनि एक ढिक्का भएर अगाडि बढ्न ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको छ । एक हुनका लागि महासंघ अगाडि बढीरहँदा केहि शक्तिहरु यसलाई विखण्डन गर्न लागि परेका छन्, यसमा चाँहि मलाई दुःख लागेको छ ।

१३. कच्चा पदार्थ वितरणमा समानता छ कि छैन ?
मैले पटक पटक भन्दै आइराखेको छु, यो एकद्वार प्रणालीले हामी व्यवसायीलाई धेरै दुःख दिएको छ । ठूला व्यवसायीको सिन्डीकेटले गर्दा हामी साना व्यवसायीलाई मार परेको अवस्था छ । मैले यसबारेमा महासंघलाई पनि खबरदारी गराउँदै आएको छुँ
कच्चा पदार्थ समानुपातिक ढंगले सबै व्यवसायीले पाउनुपर्छ । यदि यसो नभएको खण्डमा दशैँ तिहारपछि नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले कडा रुपमा प्रस्तुत भई आन्दोलनका निर्णयहरु लिने सोच बनाएका छौ ।

१४. सरकारले शान्ति सुरक्षाका लागि के कस्तो सहयोग गरेको छ ? व्यवसायीका लागि केहि सिपमूलक तालिमको व्यवस्था छ त ?
पहिलाको तुलनामा अहिले शान्ति सुरक्षा निकै राम्रो छ । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले धेरै पटक सुरक्षाका लागि गृहमन्त्रालयदेखि प्रशासनसम्म ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने गर्नाले सरकारले निकै सहयोग गरेको छ ।
नेपाली कालीगढहरुलाई सिपमूलक तालिमका लागि हामीले सीटिईभिटिई सँग पहल गरिराखेका छौ । सायद यसबारेमा पनि चाँडै केहि निष्कर्ष आउँछ होला ।
१५. महासंघ गठन भएको छोटो समयमा नै धेरै व्यवसायीको मन जित्न साथै आफ्ना सदस्यहरुलाई सीमित मात्रामा भए पनि कच्चा पदार्थ उपलब्ध गराउन सफल भएको छ, यो सफलताको राज के होला ?
देशव्यापी रुपमा सुनचाँदीको क्षेत्रलाई पारदर्शी, एकबद्ध बनाउन र व्यवसायीका हकहितका लागि लड्न नेपाल राष्ट्रिय सुनचाँदी मञ्च गठन गरिएको हो । देशभर यस मञ्चका शाखा खोल्न र हाम्रो पेशा, व्यवसायलाई अझ मर्यादित बनाउन म निरन्तर लागिराखेको छुँ । सबै व्यवसायी साथीभाईहरुको सहयोग र साथका कारण आज म केहि गर्न सक्षम भएको हुँ ।

१६. तपाईको भावी योजनाहरु के-के छन् ?
सुनचाँदीको क्षेत्रलाई पारदर्शी बनाउने र यो क्षेत्रलाई एक ढिक्का बनाएर शक्तिकेन्द्रित गरी अगाडी लिएर जाने मेरो योजना रहेको छ । अहिले संघसंस्थाहरु धेरै भएकाले गर्दा सुनचाँदीको क्षेत्र धरासायी परेको अवस्था छ । सुनचाँदीको क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनको लागि र नेपाली मौलिक गहनाहरुलाई अझै प्रचारप्रसार गरेर लग्नका निम्ति सकेसम्म यो व्यवसायलाई एकदम मजबुत बनाउन एक ढिक्का भएर अगाडि बढ्नु बाहेक अरु विकल्प छैन् । यसलाई एक ढिक्का बनाउनको निम्ति म निरन्तर लागिपरेको छु ।

१७. नजिकिँदै गरेको दशैँका बारेमा के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका तर्फबाट नजिकिँदै गरेको विजया दशमी, तिहार तथा छठको स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । चाँडबाँडको बेला आएको छ, सबैलाई घर जानु छ, वर्षदिनमा आउने चाँडबाँड सबैले खुसीका साथ मनाउनुहोला ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट