सुनचाँदी व्यवसायलाई मर्यादित पेशा बनाउन चाहन्छु : टंकबहादुर बराईली (भिडियोसहित)

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलवार

विगत २० वर्षदेखि सुनचाँदी क्षेत्रमा व्यवसाय गर्दै आइरहेका टंकबहादुर बराईली अहिले नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएका टंकले सुनचाँदी क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रको पनि सिन्डीकेट प्रथा अन्त्य हुनुपर्ने कुरामा जोड दिन्छन् । नेपाल विश्व अर्थतन्त्रमा प्रवेश गरिसकेको समयमा सिन्डीकेट लागू गर्नु हुँदैन र व्यवसायीहरुलाई खुल्ला तरिकाले व्यवसाय गर्न दिनुपर्छ भन्ने मान्यता बराईलीको छ । झापाको कन्काई नगरपालिका ५ मा जन्मिएका टंकबहादुर बराईलीसँग रिपोर्टर नेपालले गरेको कुराकानी :

१. नव निर्वाचित अध्यक्ष भएपछि संस्थालाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
पहिलो कुरा त मेरो उम्मेदवारी नै सुनचाँदी व्यवसायमा देखिएका समस्याहरु एकदमै सहि ढँगले सम्बोधन गर्नका लागि भएको हो र आगामी दिनमा सुनचाँदी व्यवसायलाई एउटा मर्यादित र सम्मानित पेशाको रुपमा स्थापित गराउने मेरो योजना छ ।

२. अहिले अध्यक्ष हुनुहुन्छ, योभन्दा अगाडी पनि कार्यसमितिको उपाध्यक्ष जस्तो गरिमामय पद सम्हाल्नु भएको थियो, के फरक पाउनु भयो त ?
हिजोको दिनमा सहमतिको प्रक्रिया अनुसार नै उपाध्यक्षमा चयन भएको थिँए र अहिले अध्यक्ष बन्दा सहमतिको प्रक्रियाभन्दा पनि सदस्यहरुबाट निर्वाचित भएर लोकतान्त्रिक विधिबाट जानुपर्छ भन्ने तमाम सदस्यहरुको चाहनाबाट मैले उम्मेदवारी दिँए र प्यानलका साथीहरुको पनि साथ समर्थन पाँए । एउटा नयाँ भिजन,नेतृत्व र एउटा नयाँ ढङ्गले यो व्यवसायलाई अगाडी बढाउन सक्ने नेतृत्वलाई चयन गर्ने उहाँहरुको चाहना बमोजिम म निर्वाचित भएको छु । यसका लागि सबै साथीभाईमा धन्यवाद दिन चाहन्छु । नेतृत्व तहमा रहेको हुँदा सबैको ईच्छा र चाहना बमोजिम चल्नुपर्ने, हरेक निर्णय प्रक्रिया र चाल्ने कदममा विशेष ध्यान दिनुपर्ने रहेछ, यहि नै त फरक हो ।

३. तपाईसँग निर्वाचनमा पराजित भएका व्यवसायीहरुको प्रतिबद्धतालाई तपाईले पूरा गर्न सक्नुहुन्छ त ?
निर्वाचन भनेको एउटा नेतृत्व चयन गर्ने साधारण विधि हो । यो विश्वव्यापी रुपमा प्रचलनमा आएको सिस्टम हो । यसले गर्दा निर्वाचनको हार जीतको प्रक्रियालाई ठूलो इस्यु बनाउनुभन्दा पनि सहि र सकारात्मक विचारलाई व्यवसायिक र संघको हक हितको लागि उहाँहरुले जे जस्तो एजेण्डा लिएर आउनु भएको छ त्यसको लागि उहाँहरुको विषयलाई पनि समेटेर सम्बोधन गर्दै अगाडी बढ्न सकिन्छ ।

४. चुनावमा विजयी भएपछिको पहिलो कदम के विषयमा चाल्नु भयो ?
योभन्दा अगाडी हाम्रो संघमा सुन वितरण प्रणाली अव्यवस्थित थियो । पहिला पैसा जम्मा गरेपछि सुन लिएर आउनु पर्ने प्रचलन,पैसा जम्मा गर्दा नजिक पायक परेको ठाँउमा बैंक नहुने समस्या, बाटोमा ट्राफिक जाम भएर समयको बर्बाद हुने समस्याको कारणले पहिलो कदमको रुपमा मैले सम्बन्धित कम्पनी जो कम्पनीले सुन उठाउनु हुन्छ, उहाँहरुलाई नै सुन आफै किनेर सदस्यहरुलाई बाड्नुहोस भनेर मैले चाहिँ त्यस्तो एउटा उत्प्रेरणात्मक कार्यक्रम ल्याई दिएको छु र कम्पनीहरुले पनि त्यो कुरालाई मनन गरेर सुन आफै खरिद गरेर सदस्यहरुलाई बाँड्नु हुन्छ जसले गर्दा व्यवसायीलाई कारोबारमा निकै नै सहजता भएको छ । यस्तो सहयोगको लागि ती कम्पनीहरु पनि धन्यवादको पात्र हुनुहुन्छ । चुनावमा विजय भएर तत्कालै सुरु गरेको पहिलो कदम यहि हो र आगामी दिनमा यो सुनचाँदी क्षेत्रलाई सम्मानित बनाउनको लागि धेरै वटा योजनाहरु ल्याउदै छुँ ।

५. कच्चा पदार्थ सुनको माग दैनिक रुपमा कति छ ? सरकारी तहबाट उपलब्ध सुन पर्याप्त छ त ?
दैनिक रुपमा नेपाली बजारमा करिब ३५ देखि ४० केजीसम्म कच्चा पदार्थ सुनको माग छ । तर सरकारी कोटा भने पूरानै २० केजीमा सिमित छ । यसरी हेर्दा माग र पूर्तीमा सन्तुलन भएको पाइदैन । दिन प्रतिदिन यस व्यवसायमा प्रवेश गर्ने नयाँ व्यवसायीहरुको संख्या बढ्दो छ भने सुनको सरकारी कोटा त्यहि पूरानो रेटमा आधारित छ । तसर्थ सरकारी तवरबाट पर्याप्त मात्रामा व्यवसायीहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन जरुरी देखिन्छ । साथै नेपाली शिप र कलालाई हामी अन्तर्राष्ट्रिय बजारमा बेचेर मनग्य आम्दानी पनि गर्न सकिन्छ ।

६. सुनचाँदी व्यवसायमा सिन्डीकेट हाबी भएको सुनिन्छ, अहिलेको अवस्था कस्तो छ ?
सिन्डीकेटको म पनि विरोधी हो । सुनचाँदी क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रको पनि सिन्डीकेट प्रथा अन्त्य हुनुपर्छ भन्ने मेरो चाहना हो । अहिले नेपाल विश्व अर्थतन्त्रमा प्रवेश गरिसकेको छ अब सिन्डीकेट लागू गर्नु हुँदैन र व्यवसायीहरुलाई खुल्ला तरिकाले व्यवसाय गर्न दिनुपर्छ भन्ने मान्यता राख्छु । जसले विशुद्ध सुनचाँदीको काम गर्ने पेसा गरिरहेका छन् तिनीहरुले मात्र सुन पाओस् भनेर पहिचानको आधारको रुपमा सिफारिस दिने गरेको छ यसलाई सिन्डीकेट भन्न मिल्दैन ।

७. राष्ट्र बैंकको नीति के छ ? अब बजारमा सुनको माग र आपूर्तीको सन्तुलन मिलाउन तपाइको भूमिका के रहने छ ?
राष्ट्र बैंकले व्यवसायीहरुलाई दैनिक २० किलो सुन दिनु कनिका छरे जस्तो भएको छ व्यवसायीको संख्या दिन दिनै बढ्दो छ । हिजोका दिनमा कालीगढी गर्नेहरुले पनि आज आफ्नो छुट्टै व्यवसाय खोलेर बसेका छन् । त्यसैले अब हामीले यसको बजार विस्तार गर्न हाम्रा कालीगढी सिप र उत्पादनहरुलाई विदेश निर्यात गर्ने योजना बनाएका छौँ । यसैले यस व्यवसायमा अघोषित रुपमा सिन्डीकेट लाउनुभन्दा पनि खुल्ला रुपमा सुन आयात गरेर मुख्य काम गर्ने मान्छेहरुले सुन पाए यो व्यवसाय स्वच्छ र मर्यादित बन्न सक्छ । हामी पनि महासंघ अन्र्तगतकै महत्वपूर्ण संघ हौँ । हामीले राष्ट्र बैंकलाई कोटा बढाउन पहल गरेका छौँ र आन्तरिक रुपमा पनि गृहकार्य गरिरहेका छौँ ।

८. नेपालमा सुनको आयात राम्रोसँग नभएको अवस्थामा तपाईहरु सुनचाँदी बाहिर निर्यात गर्ने भन्नु हुन्छ यो कत्तिको सम्भव छ ?
अहिलेको विश्व बजारको सुनको कर प्रणाली १ तोला बराबर ५५ सय रुपैयाँ भन्सार दर छ । यो हाम्रो सुन बजार रेट र अन्तर्राष्ट्रिय बजारको रेटमा ५ हजार बढि हो । यसले गर्दा हाम्रो निर्यात गर्ने सिस्टम सहि नभएको र विश्व बजारको तुलनामा हाम्रो सुनको रेट महंगो भएकाले हामीले निर्यात गर्ने सुनको लागि भन्सार छुटको व्यवस्था माग गरेका छौँ । यसका लागि आगामी दिनमा विशेष ढंगले अगाडी बढ्ने र हाम्रो कला र मौलिक गरगहनालाई निर्यात गर्न विशेष लागि पर्ने छु ।

९. यो व्यवसायमा दक्ष कामदारको अवस्था कस्तो छ, सजिलै पाउन सकिन्छ कि कामदारको अभाव छ ?
हरेक व्यवसाय जस्तै यो व्यवसायमा पनि दक्ष कामदारको अभाव नै छ । सुन व्यवसायीहरुका लागि यो अलिकति जटिल र पेचिलो विषय हो । सुनचाँदी बहुमूल्य धातु भएकाले सबैलाई झट्ट विश्वास गरिहाल्न सकिँदैन । यसको लागि हामीले घोषणापत्रमै कालीगढको पहिचान गर्ने र सिटिइभिटीबाट प्रमाणपत्र दिलाई उनीहरुकोे थर ठेगाना लिएर स्थायी परिचय राख्ने गरेका छौँ । साथै दक्ष जनशक्ति उत्पादनका लागि हामीले ट्रेनिङ स्कुल संचालन गर्न पनि लागिरहेका छौँ ।

१०. सिटिइभिटीको कस्तो साथ पाइराख्नु भएको छ ? सुरक्षाको हिसाबले यो पेशा कत्तिको सुरक्षित छ ?
सिटिइभिटीको साथ नभए यो पेशा मर्यादित बन्न सक्दैन । यसका लागि हामीले पहल गरिरहेका छौँ । यो आधारभुत शिक्षालाई व्यवस्थित ढङ्गले लानुपर्छ भनेर सिर्जना भएको संस्था पनि हो त्यसैले उहाँहरुको साथ मात्र होइन समर्थन पनि पाइने विश्वास लिएका छौँ ।
यो व्यवसायको एक मुख्य समस्या सुरक्षा पनि हो । यसमा लाखौँको सामानहरु सोकेशमा राखेर पेशा गर्नुपर्ने अवस्था छ । यसका लागि राज्यको तर्फबाट उपयुक्त सुरक्षा नीति अवलम्बन गर्नुपर्ने आवश्यक छ र सुनचाँदी क्षेत्रका लागि अझ विशेष खालको नीति ल्याउनुपर्ने आवश्यक देखिन्छ ।

यो अन्तर्वार्ता रिपोर्टर नेपालको यूट्यूब च्यानलमा पनि हेर्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट