जनै : एक महिमा

प्रकाशित मिति: १० भाद्र २०७५, आईतवार

“येन बद्धो बलिराजा दानवेन्द्रो महावल ।
तेन त्वां प्रतिबध्नामी रक्षमा चलमा चल ।।”

अर्थात “जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।”
जनै अर्थात तागाधारी हिन्दु धर्मावलम्बीहरुको “यज्ञसूत्र” । परम्परादेखि हरेक वर्ष जनै पूर्णिमाको दिन पुरानो जनैलाई विर्सजन गर्दै नयाँ जनै धारण गर्ने चलन चल्दै आएको छ । यस दिन रक्षाको प्रतिक “रक्षासुत्र” वा रक्षाबन्धनको रुपमा डोरो पनि बाँधिन्छ । विकसित प्रचलनको रुप भनौं वा भारतीय चलचित्र अनि श्रब्य–दृश्य माध्यमको प्रभाव आजकाल दिदी–बहिनीहरुले दाजुभाईको रक्षाको कामनाले हातमा राखी बाँधिदिने चलन पनि थपिदै गएको छ ।

जनैपूर्णिमा श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने गरिन्छ । यो पर्वको एक दिन अगाडि हिन्दु धर्मावलम्बी तागाधारीले उपवास बसी विशेष मन्त्रोचारण सहित घरघरमा आफ्नो कूल पुरोहित निमन्त्रणा गरी नयाँ जनै धारण गर्ने प्रचलन रही आएको छ । बाल्यकालपछि शुभ लग्न जुराई व्रतबन्ध कर्म गरिन्छ । व्रतबन्धमा विधिपूर्वक कर्म सम्पन्न गर्ने क्रममा गुरु पुरोहितद्धारा गायत्रीमन्त्रको श्रवण गोप्य रुपमा बटुकहरुलाई सुनाईन्छ र सोहि समयमा देब्रे काँध माथि पर्नेगरी दाहिने हातको तल पारेर गुरु पुरोहितहरुले मन्त्रेर तयार पारिएको जनै बटुकहरुलाई धारण गर्न दिईन्छ ।

“जनै” अर्थात “यज्ञोपवीत” आर्य संस्कृति पहिचानको रुपमा रहेको छ । जनैलाई विधाको चिन्ह र यज्ञको भेषभूषाको रुपमा पनि मानिन्छ । परापूर्वकालमा मर्यादा पुरुषोत्तम श्रीराम, श्रीकृष्ण, हिमालयपति शिव, चतुर्मुुख ब्रम्हाजी लगायत माता पार्वती, सीता माता, दुर्गा माता रुकमणी, देवी कुन्ति, सतिसाध्वी द्रौपदी आदि सबै नरनारीहरुले जनै धारण गर्ने संस्कृति थियो । समयकालक्रममा नारीले जनै धारण गर्ने परम्परा विस्थापित हुन पुग्यो । नारीहरुलाई मध्ययुगमा शाषकहरुको शोषण अनि सामान्ती सोचका कारण यस पवित्र अनि धार्मिक प्रवृतिलाई अवलम्बन गर्नबाट निषेध गरियो । यम संहितामा उल्लेखित :
“पुराकल्पेतु नारीणां मौञ्जीबन्धन मिष्यते ।
अध्यापनं च वेदानां सावित्री वाचनं तथा ।।”
अर्थात प्राचिन समयमा नारीहरुको उपनयन वा व्रतबन्ध संस्कार हुन्थ्यो तथा उनीहरुलाई वेद अध्यनका साथै गायत्री जप गर्ने आज्ञा थियो ।

वैदिक ग्रन्थअनुसार जनै काँचो धागोबाट बनेको हुन्छ र वेद अध्यनको लागि योग्यता हासिल गर्नको निमित्त मन्त्रिएर ६ सुते धागोबाट तयार गरिन्छ । जसमा ३/३ वटा डोराको बन्धन शिखाको रुपमा तयार गरिन्छ । ६ वटा शिखामध्ये ब्रम्हा, विष्णु र महेश्वर ३ वटा शिखामा र अर्को जनैको शिखालाई कर्म,उपासना र ज्ञानको रुपमा मानिन्छ ।

यी शक्तिको उपसना गर्नाले सूर्य भगवानको प्रत्यक्ष शक्ति प्राप्त गर्नुका साथै त्यसमा रहेको गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक शक्तिको विकास हुन्छ । आजभोली वैदिक धर्मलाई केवल जातिय आधार र छुवाछुतको रुपमा लिने चलन रहेको छ । जुन चलन अत्यन्त सकुंचित सोचाईको उपज मात्र हो ।

त्यसो त हामीले धारण गर्ने जनैको आयु सरदर चार महिनाको मात्र हुन्छ । जनैको महिमाका बारेमा स्वीट्जरल्याण्डका नागरिक “रुडोल्फ होगर”ले आफ्नो पुस्तक “ दि सेक्रेट थे्रईड” नामक पुस्तकमा लेखेका छन् । जनैको धार्मिक महत्व मात्र नभएर स्वास्थ्यको दृष्टिकोणबाट पनि उत्तिकै महत्व रहेको छ । जनै धारण गर्नाले मुटू रोग तथा अन्य स्नायु रोगको उपचारमा समेत लाभदायी मानिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट