सयौं मानिसको ज्यान जोगाएको कुकुरको मृत्यु, लाखौं मानिसद्वारा श्रद्धाञ्जली अर्पण

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलवार

रोम । इटलीमा काओस नाम गरेको ‘जर्मन शेफर्ड’ जातको कुकुरको मृत्यु भएपछि लाखौं मानिसहरुले दुःखी हुँदै कुकुरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उक्त कुकुरका मालिक फाबियानो इटोरले आफ्नो कुकुरको मृत्यु भएको जानकारी फेसबुकमार्फत दिएका हुन् । कसैले दिएको विषबाट आफ्नो कुकुरको मृत्यु भएको जानकारी उनले दिएका हुन् ।

फाबियानोले फेसबुकमा कुकुरलाई सम्बोधन गर्दै लेखेका छन्, ‘त्यहाँ गएर पनि आफ्नो काम जारी राख्नू, हराइरहेका मानिसलाई खोज्नू र उनीहरुको जीवन बचाउनू ।’ फाबियानोले फेसबुकमा कुकुरको मृत्यु सम्बन्धी दिएको जानकारीलाई ६६ हजारभन्दा बढीले शेयर गरेका छन् । काओसको मृत्युपछि फेसबुक र ट्वीटरमा लाखौं मानिसले श्रद्धाञ्जली अर्पणसहितका सन्देश दिएका छन् ।

वास्तवमा काओसले सन् २०१६ अगस्टमा इटलीमा गएको भूकम्पपछि उद्धारका क्रममा कयौं मानिसको ज्यान जोगाएको थियो । उसले भग्नावशेषमा पुरिएका मानिसको खोजीमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।

सोही कारण इटलीमा उक्त कुकुर निकै प्रशिद्ध भएको थियो । उसलाई कतिपयले ‘हिरो’ भन्ने गरेका थिए । शनिबार फाबियानोले फेसबुकमा आफ्नो कुकुर हराएको सूचना दिएका थिए । उनले काओसलाई कसैले देखेमा आफूलाई खबर गर्न आग्रह गरेका थिए ।केही घण्टापछि उनले अर्को स्टाटस पोस्ट गर्दै काओसको मृत्यु भएको जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट